सहमति पालना गर्न आग्रह

397

सहमति पालना गर्न आग्रह


बुटवल, १० चैत । संयुक्त ई रिक्सा व्यवस्थापन सिफारिस समिति बुटवलले ई रिक्सासंग सम्बन्धित विभिन्न ७ वटा संस्थाबीच भएको सहमति पालना गर्नुपर्ने माग गरेका छन् ।

ई रिक्सा व्यवस्थापनका लागि विभिन्न संस्थाहरुबीच प्रति म्यानुअल रिक्सा विस्थापित वापत ६ हजार रुपैयां दिने भद्र सहमति भएकोमा रिक्सा व्यवसायी संघले उक्त सहमति विपरित १५ हजार रुपैयांसम्म माग गर्न थालेपछि यसको विरोध भएको छ । सिफारिस समितिमा रहेका ७ वटा संस्थाहरुले चैत ११ गते शुक्रबारसम्म पुर्व भद्र सहमति पालना गरी ब्लुबुक उपलब्ध नगराए ब्लु बुक विनै दर्ता प्रकृया अघि बढाउन उपमहानगरपालिकालाई आग्रह गर्ने निर्णय भएको सिफारिस समितिका संयोजक रविलाल गौतमले बताए ।

लामो समयसम्म अस्तव्यस्त बनेको ई रिक्सा व्यवस्थापनको कार्यले गति लिन लागेको बेला रिक्सा व्यवसायी संघले निहीत स्वार्थका लागि भांजो हाल्ने काम गरेको संयोजक गौतमले बताए । संघले सहमति विपरित बढी पैसा असुल्ने प्रयास गरेमा बैंक खाता खोली भौचरका आधारमा दर्ता प्रकृया अघि बढाइने स्पष्ट पारेका छन् । सिफारिस समितिमा रेसुङ्गा ई रिक्सा समितिका रविलाल गौतम, रिक्सा संरक्षण समितिका टलबहादुर क्षेत्री, रिक्साधनी तथा चालक भलाई कोषका गोपाल रिजाल, रुपन्देही ई रिक्सा चालक संघका दिनेश जोशी, समाजवादी ई रिक्सा मजदुर संघका बागबहादुर बुढा र रिक्साधनी तथा चालक भलाई कोषका डम्बर खतिबडा सदस्य रहेका छन् ।

बुटवल उपमहानगरपालिकाले हालै मात्र बुटवलमा सञ्चालित मध्ये १ हजार १८ थान ई रिक्सालाई दर्ता गर्ने प्रकृया अघि बढाएको छ । लामो समयसम्म दर्ता नहुंदा ई रिक्सा संचालन अव्यवस्थित भएको थियो ।