गुल्मी(जुभूङ्ग), ११ चैत । गुल्मी जिल्लाको साविक जुभूङ्ग गाविसमा नेपाली कांग्रेसको भेला सम्पन्न भएको छ । कांग्रेस गुल्मीको अर्वेनी अग्लुङ्ग अभियान अन्र्तगत आज दरवार गाउंपालिका वडा नं. २ जुभूङ्गमा भेला भएको हो ।
भेलामा स्थानिय निर्वाचनमा पार्टीको भुमिका कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो । कांग्रेसको पहलमा भएका विकास निर्माणमा समेत अन्य दलले भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्न सबै तह तप्काबाट लाग्नु पर्नेमा जोड दिइएको थियो । अभियानका दरवार गाउंपालिका संयोजक एवं महाधिवेशन प्रतिनिधी श्रीप्रसाद भलामीले यस क्षेत्रमा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर रहेको हुंदा स्थानिय निर्वाचनमा पार्टीको जित सुनिश्चित रहेको दावी गर्नुभयो । उहांले कांग्रेसकै पहलमा संविधान बनेको हुदा अव स्थानिय तहमा विकासको लहर सिर्जना गर्न पनि कांग्रेसको जित हुनुपर्ने उल्लेख गर्नुभयो ।
महाधिवेशन प्रतिनिधी ईश्वरी परियारले मुलुकको लोकतान्त्रिक पार्टी कांग्रेस प्रति सबैको भरोसा रहेको हुंदा स्थानिय निर्वाचनमा अत्यधीक मतले विजयी हुने बताउनुभयो । कांग्रेस क्षेत्र नं. २ का उपसभापति हरी अर्यालले स्थानिय निर्वाचनले जनताको अधिकार जनताकै घरमा ल्याउने हुदा कांग्रेसले जित्नेगरी लाग्न सबैलाई आग्रह गर्नुभयो ।
साविक जुभूङ्ग गाविसका कांग्रेस सभापति जगन्नाथ गौतमले गत संविधानसभा निर्वाचनमा यस क्षेत्रमा कांग्रेसको जित भएको हुंदा स्थानिय निर्वाचन समेत सुनिश्चित भएको उल्लेख गर्नुभयो । कार्यक्रममा कांग्रेसका पुर्व जिल्ला कोषाध्यक्ष यम बहादुर थापा, साविक जुभूङ्ग गाविसका पुर्व सभापतिहरु केशरसिंह सारु, ज्ञान बहादुर खड्का, थम्मन बहादुर थापा लगाएतले बोल्दै स्थानिय निर्वाचनमा कांग्रेसले जित्नेगरी सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
चैत ३ गते बाट दरवार गाउंपालिकामा सुरु भएको अभियान अन्र्तगत भोलि गौडाकोटमा गाउंपालिका सम्मेलन हुने क्षेत्र नं. २ का सचिव पुर्ण केसीले जानकारी दिनुभयो । कार्यक्रममा साविक जुभूङ्ग गाविसका नौं वटै वडाका प्रतिनिधीले आ–आफ्नो क्षेत्रमा रहेका संगठन र स्थानिय समस्याको वारेमा जानकारी गराउनु भएको थियो ।