टायल मार्बल श्रमिकलाई परिचपयपत्र

729

टायल मार्बल श्रमिकलाई परिचपयपत्र

बुटवल, १२ चैत । टायल मार्बल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले टायल मार्बल श्रमिकहरुलाई परिचयपत्र वितरण गर्न शुरु गरिएको छ । टायल मार्बल श्रमिक संघ जिल्ला कार्यसमिति रुपन्देही बुटवलले पहिलो चरणमा एक सय पचास जना श्रमिकलाई परिचयपत्र वितरण गरेको हो ।

आज तिलोत्तमा नगरपालिकाको जानकीनगरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच संघीय समाजवादी फोरम नेपालका रुपन्देही क्षेत्र नं. ४ का अध्यक्ष अशोक वर्मा, पत्रकार खिमानन्द भट्टराई, मजदुर नेता सफा तुल्ला रजा लगायतले टायल मार्बल श्रमिकहरुलाई परिचय पत्र प्रदान गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि वर्माले श्रमिकहरुले आफ्नो श्रमको उचित मूल्य र सम्मान पाउनका लागि संगठित र एकजुट हुनु अपरिहार्य रहेको बताए । उनले श्रमिकहरु संगठित भएमा कसैले श्रम शोषण गर्न नसक्ने औंल्याउंदै श्रमिकका समस्याप्रति सबै दलहरुले ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा बोल्दै अग्रज पत्रकार खिमानन्द भट्टराईले निश्चित दररेटको अभाव, सम्झौता नगरी काम गर्ने परिपाटी र अस्वस्थ प्रतिस्पर्धाले टायल मार्बल श्रमिकहरुमाथि बेलाबेलामा घरधनीहरुबाट हेपाहा व्यवहार हुने र कामको पूरा पारिश्रमिक नपाउने समस्या रहेको उल्लेख गर्दै यसलाई रोक्न परिचयपत्रले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

संघका अध्यक्ष रामविकास लोनियाले बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा रोकेर पेशालाई व्यवस्थित र मर्यादित बनाउन परिचयपत्र लागु गरिएको बताए । परिचयपत्र भएका श्रमिकले गरेको कामको जवाफदेही संघ हुने हुंदा सेवाग्राही र श्रमिक दुबैलाई सहज हुने बताए । कार्यक्रममा नेपाल नाई संघ रुपन्देहीका अध्यक्ष सफा तुल्ला रजा, नगर अध्यक्ष विनोद ठाकुर, टायल मार्बल श्रमिक संघका पुर्व अध्यक्ष राममिलन राजभर, संघका लोक सारु, केबी श्रेष्ठ लगायतले बोलेका थिए । रुपन्देहीमा करिब सय जना टायल मार्बल व्यवसायी र एक हजार बढी श्रमिकहरु कार्यरत छन् ।