संविधान संशोधन अघिको चुनाव मान्दैनौ

264

संविधान संशोधन अघिको चुनाव मान्दैनौ

बुटवल, १३ चैत । संविधान संशोधन नगरी यथास्थितिमा हुने चुनाव आदिवासी जनजातिका लागि मान्य नहुने आज बुटवलमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले जबर्जस्त ढंगले चुनाव गर्न खोजिए परिणाम राम्रो नहुने चेतावनी दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको स्थानीयतह पुर्नसंरचना सहितको निर्वाचन आदिवासी जनजातिको अधिकारको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा एमालेका कुमार थापा मगर, नेकपा क्रान्तिकारी माओवादी रुपन्देहीका संयोजक भुल बहादुर सुनारी, राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीका अध्यक्ष झम बहादुर गुरुङ्ग, नेकपा रुपन्देहीका इन्चार्ज शरद ओली, नयाँ शक्ति पार्टीका पंकज राई, नेपाल छन्त्याल संघका केन्द्रीय सदस्य जय बहादुर छन्त्याल, नेपाल मगर संघ रुपन्देहीका उपाध्यक्ष आन बहादुर सोती, यम बहादुर थापा लगायतले बोल्नुभएको थियो ।

महासंघका अध्यक्ष दल बहादुर छन्त्यालको अध्यक्षता, सचिव ज्ञानेन्द्र भुजेलको संचालन र सदस्य धनी आलेको स्वागतमा भएको कार्यक्रममा अध्यक्ष छन्त्यालले उल्लेखित विषयवस्तुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।