फर्साटिकर उमाविमा सात दलले लगाईदिए ताला

1.1K

फर्साटिकर उमाविमा सात दलले लगाईदिए ताला

बुटवल, १३ चैत । रुपन्देहीको सुद्धोधन गाउँ पालिका स्थित फर्साटिकर उच्च माध्यमिक बिद्यालयमा नेपाली काँग्रेस लगायत ७ वटा दलले अनिश्चित कालका लागि बिद्यालय प्रशासनमा ताला लगाईदिएका छन् । उनीहरुले बिद्यालय व्यबस्थापन समिति गठन प्रकृयामा असहमती जनाउँदै त्यसलाई सुधार गर्नुपर्ने माग सहित ताला लगाईदिएका हुन् ।

बिद्यालय व्यबस्थापन समिति गठनकालागि भएको निर्वाचनमा एमालेबाट तीन जना, नेपाली काँग्रेसबाट एक जना विजयी भएका थिए । व्यबस्थापन समितिमा एक जना शिक्षक प्रतिनीधि सदस्य र प्रधानाध्याक सदस्य सचिव रहने व्यबस्था हुन्छ । त्यस बाहेक दुई जना मनोनित गर्ने प्रावधान छ ।

निर्वाचनबाट बिद्यालय व्यबस्थापन समितिका सदस्य चयन भएपनि आपसी मतमतान्तरका कारण अध्यक्ष तथा दुई जना सदस्य मनोनयन गर्न भने सकेको थिएन । यसैबिचमा भएको बैठकबाट जिल्ला शिक्षा कार्यालयमा बुझ्ने र जिल्ला शिक्षा कार्यालयले दिएको सल्लाह सुझाव अनुसार अंगाडी बढ्ने निर्णय भएपनि उक्त निर्णयलाई च्यातेर मनोमानी गरेकाले त्यसलाई सुधार गर्न माग गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति, राष्ट्रिय जनमुक्ति, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेकपा संयुक्तले विज्ञप्ती सहित बिद्यालय प्रशासनमा अनिश्चित कालिन तालाबन्दि गरिदिएका हुन् ।

उनीहरुले गत सुक्रबार जेष्ठताको आधारमा बैठक बसी भएको निर्णय च्यात्ने र पूर्व अध्यक्ष समेत रहनुभएकी कमला भण्डारीले आफैले माईन्युट लेखेर आफैलाई अध्यक्ष घोषणा गरेको भन्दै त्यसको समेत बिरोध गरेका छन् । त्यस्तै उनीहरुले मापदण्ड विपरित बिद्यालय व्यबस्थापन समितिको सदस्य पदमा पार्टीका कार्यकर्ता भर्ति गरेको भन्दै त्यसलाई तत्काल सुधार गर्न माग गरेका छन् । यसमा बिद्यालयका प्रधानाध्यापक तथा व्यबस्थापन समितिका सदस्य सचिव र कांग्रेसबाट निर्वाचित सदस्यले भने उक्त निर्णयलाई अस्विकार गरेको ती दलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।