निर्वाचन भाड्ने षड्यन्त्र : नेपाली

432

निर्वाचन भाड्ने षड्यन्त्र : नेपाली

बुटवल, १४ चैत । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले स्थानीय निर्वाचन भाड्ने षड्यन्त्र भैरहेको बताउनुभएको छ । जनप्रतिनिधि देख्न नचाहाने देशी र विदेशी शक्तिहरु स्थानीय निर्वाचन भाड्ने षड्यन्त्रमा लागेको बताउनुभयो ।

उहांले मुलुकलाई अघि बढाउन स्थानीय तहमा जनप्रतिनिधिको आवश्यक रहेकाले तोकिएकै मिति बैशाक ३१ गते निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो । आज सम्पन्न अखिल नेपाल उद्योग व्यापार संघ रुपन्देहीको प्रथम जिल्ला सम्मेलनमा बोल्दै कार्यकारी अध्यक्ष नेपालीले जस्तो सुकै अवस्थामा पनि तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प नभएको बताउनुभयो ।

उहांले स्थानीय निर्वाचन रोकिए देशको अवस्था नाजुक बन्ने र संविधान कार्यान्वयन हुन नसक्ने अवस्था आउने बताउनुभयो । स्वाधिन अर्थतन्त्र निर्माणका लागि जनमुखि अर्थ नीति बनाउन आवश्यक रहेको बताउनुभयो । उहांले राष्ट्रिय पूजीको विकास, संरक्षण र विकासका लागि जनमुखि अर्थ नीति बनाउनुु पर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव सन्तबहादुर नेपालीले अहिले सम्मको सत्तासिन वर्ग राष्ट्रिय पूंजीको विकासमा इमान्दार नभएको बताउनुभयो । अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रिय अध्यक्ष ढुण्डीराज शर्माले आर्थिक रुपले देशलाई आत्मनिर्भर बनाउन आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान संघका कोषाध्यक्ष गणेश गौतम, अखिल नेपाल युवक संघका कोषाध्यक्ष बाबुराम आचार्य, अखिल नेपाल महिला संघकी शान्ता पौडेल, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेश अधिकारी, उद्योग व्यापार संगठनका अध्यक्ष खेम श्रीष लगायतले बोल्नुभएको थियो । अखिल नेपाल उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष तुलसीराम शर्माको अध्यक्षता र यज्ञप्रतिघात पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।