
बुटवल, १५ चैत । बुटवलमा जारी दोस्रो जुत्ता मेलाको पाचौं दिनसम्म आईपुग्दा पांच हजार जनाले अवलोकन गरेका छन् भने २० लाखको कारोवार भएको छ । मेलामा जुत्ता उपभोक्ताको उपस्थिती बृद्धि हुँदै गएको मेला आयोजक समितिका संयोजक तथा नेपाल युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरका अध्यक्ष सुमोदमान सैंजुले बताउनु भयो ।
यही चैत ११ गतेदेखि बुटवल उद्योग बाणिज्य संघमा सञ्चालन गरिएको जुत्ता मेलामा बिभिन्न आठ कम्पनीका जुत्ताका ब्राण्ड राखिएको छ । जुत्ता मेलामा जुत्ताको अंकित मुल्यमा १५ देखि ७० प्रतिशत सम्म छुट गरि बिक्री वितरण गरिएको उहाँले बताउनु भयो । मेलामा महिलाकालागि छुट्टै महिला पेभिलियन राखिएको छ । जसका कारण पुरुषको तुलनामा महिलाको सहभागिता उल्लेखनीय रहेको स्टलधनीहरु बताउँछन् ।
यही चैतको २५ गतेसम्म सञ्चालन हुने मेलामा नेपाली जुत्ता घरमा आवद्ध वेस फूटवेयर प्रा.ली., शिखर शुज ईण्डष्ट्रिज, लालिगुराँस फूटवेयर, मेघा शु ईण्डष्ट्रिज, पवित्रा शुज ईण्डष्ट्रिज, कोशेली छाला जुत्ता उद्योग र स्काई शुज ईण्डष्ट्रिजबाट उत्पादित शिखर, डियरहिल, स्काई शुज, बि.एफ. डिएरियन, कोसेली, क्रसरोड, फूटल्याण्ड, शुजल्याण्ड, ईजी शुज, टमटेलर ब्राण्डहरु राखिएका छन् ।
युवा उद्यमीहरुको उद्यमशिलता बिकास गर्ने उद्देश्यका साथ स्थापित मञ्चले स्वदेशी उत्पादन प्रवद्र्धनकालागि जुत्ता मेला गरेको हो । अंघिल्लो वर्षदेखि सुरु गरिएको जुत्ता मेला नेपाली जुत्ता घरको सह–आयोजनामा सञ्चालन गरिएको छ । १५ दिन सम्म सञ्चालन गरिने मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड सम्मको कारोवार हुने अपेक्षा गरिएको छ । बुटवल उद्योग बाणिज्य संघले नेपाली उत्पादनको प्रवद्र्धनका लागि हरेक वस्तुगत उत्पादनको मेला गर्ने लक्ष्य अनुसार संघकै संरक्षकत्वमा गत वर्ष जुत्ता मेला गरेको थियो भने मोवाईल मेला समेत सुरु गरिसकेको छ । त्यस्तै औद्योगिक व्यापार मेला संगै विशिष्टिकृत रुपमा कृषि मेला समेत गर्दै आएको छ ।
