टुगा अक्षयकोष स्थापना

1.3K

टुगा अक्षयकोष स्थापना

कोटीहवा, १८ चैत । रूपन्देहीको तिलोत्तमा– १५ कोटीहवास्थित नेपाल टुगा बचत तथा ऋण सहकारी संस्थाले नर्मदेश्वर खैरिया प्रा.वि. सुपौलीमा तीस हजार रूपियाँको टुगा अक्षयकोष स्थापना गरेको छ  ।

साठीऔं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज आयोजित सहकारी व्यवस्थापन सम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रमबीच अक्षयकोष स्थापना सहित अन्य घोषणाहरू कार्यान्वयनमा ल्याएको हो । सो अवसरमा पतिवियोगमा पर्नुभएका शेयर सदस्य याममाया गुरूङ्लाई छ हजार रूपियाँ शोक अनुदान दिइएको थियो । संस्थाको सामुदायिक उत्तरदायित्व सम्बन्धी वार्षिक कार्यक्रम बमोजिम नेपाल अविनाश अनाथ आश्रमलाई पाँचहजार पाँचसय रूपियाँ बराबरको खाद्यान्न सहयोग गरिएको थियो ।

त्यसैगरी, कार्यक्रममा नेफस्कून केन्द्रीय सदस्य कृष्णप्रसाद नेपालले “सहकारी व्यवस्थापन तथा सञ्चालन”सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
संस्थाका अध्यक्ष डी.वी. थापाको अध्यक्षता तथा सचिव जितबहादुर रास्कोटीको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख सल्लाहकार ताराप्रसाद छन्तेल, पशुपति कलेजका प्रमुख जयलाल शर्माबस्याल, पत्रकार मुक्तिनाथ गैह्रे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अन्तक्र्रिया कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार तथा विभिन्न उपसमितिका पदाधिकारीको उपस्थिति रहेको सहकारीका व्यवस्थापक ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो । संस्थाले आगामी दिनमा पनि सामाजिक तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै जाने सो अवसरमा बताइएको थियो ।