स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य तालिम

1.3K

स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य तालिम

बुटवल, १८ चैत । लालिगुराँश न्यूरो फार्मेस्टिक क्लिनिक बुटवल र युनाईटेड मिसन टु नेपाल रुपन्देही क्लस्टरको सहयोगमा सुनगाभा सामुदायिक बिकास केन्द्रले स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धितालिमप्रदान गरेको छ ।

तालिममा मनोरोग विशेषज्ञ डा. बिक्रम काफ्लेले प्रशिक्षण दिँदै मानसिक स्वास्थ्यको पहिचान बिना नै औषधी चलाउँदा त्यसले नकारात्मक असर गर्ने भएकाले राम्रोसंग पहिचान गरेमा मात्रै उपचार गर्न सल्लाह दिनुभयो । नेपालमा मानसिक रोगीको यथार्थ तथ्याङ्क नभए पनि कुल जनसंख्याको २५ प्रतिशत मानसिक बिरामी भएको उल्लेख गर्दै उहाँले बंशाणुगत, टाउकोमा चोटपटक लाग्ने जस्ता कारण दिमागमा रासायनिक तत्वको असन्तुलन भएमा मानसिक स्वास्थ्यमा समस्या आउने बताउनु भयो ।

सामान्य घटनाक्रम या तनावले उसको दैनिकीमा असर पार्छ भने त्यो मानसिक अस्वस्थ्यता हो । डिप्रेसन, चिन्ता रोग, सुस्तमनस्थिती, लागुऔषध सेवन यी सबैकुरा मानसिक अस्वस्थ्यका कारक भएको बताउँदै मानसिक स्वास्थ्यमा समस्या आउँदा एकदमै उदास भईरहने, कामगर्ने जागर नदेखाउने, सामान्य काममा पनि थकान महसुस गर्ने लक्षणहरु देखा पर्ने उहाँले जानकारी गराउनु भयो ।

विश्व स्वास्थ्य संगठनकाअनुसार अहिले विश्वमा १६ मिलियन जनसंख्या मानसिक स्थास्थ्यको शिकारमा छन् । नेपालमा पनि प्रत्येक ४ मा एक जनालाई मानसिक स्वास्थ्य समस्या भएको बताईन्छ । मानसिक स्वास्थ्य संगै दीर्घ रोगहरु एचआईभी, टिबीभएको बिरामीलाई मानसिक अस्वस्थ्यतालाई ख्यालै नगरी अन्य रोगको मात्रै उपचार गरियो भने त्यसको उपचार प्रभावकारितामा समेत कमी आउने डा. काफ्ले बताउनु हुन्छ । आज बुटवलमा सञ्चालन गरिको तालिममा करिव ४५ जना स्वास्थ्यकर्मी सहभागि थिए ।

तालिममा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले धेरै नागरिकमा मानसिक स्वास्थ्य समस्या भएपनि उपचारका लागि खुलेर आउन नसकेको उल्लेख गर्नुभयो । उहाँले यसको रोकथाममा सरकारले समयमै ध्यान नदिने हो भने निकट भविश्यमै यसले विकराल रुप लिने उल्लेख गर्दै सरकारले यसको उपचार निःशुल्क गराउनु पर्ने सुझाव राख्नुभयो ।

सुनगाभा सामुदायिक बिकास केन्द्रले रुपन्देहीको सौफर्साटिकर सहित तीन वटा गाउँबिकास समितिमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना परियोजना सञ्चालन गरेको केन्द्रका अध्यक्ष प्रेमबहादुर विकले बताउनु भयो ।