
झविन्द्र देवकोटा/
बुटवल, १८ चैत । रुपन्देहीको मर्चवार गाउपालिकामा आज निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । स्थानीय विपन्न तथा आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्योपचारको पहुँचमा नपुगेकालाई स्वास्थ्य सम्वन्धि सेवा प्रदान गर्ने उद्देश्यले मर्चवार क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
बुटवल रामनगर स्थित जबरजंग गणको आयोजनामा मर्चवारको चामार टोलमा भएको स्वास्थ्य शिविरमा स्थानीय ६ सय बढीले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा दन्त तथा मुख रोग, स्त्री तथा प्रसुति रोग, सामान्य चिकित्सा, बालरोग लगायतका स्वास्थ्य सम्वन्धि परीक्षण गरिएको थियो । औषधी समेत निःशुल्क रुपमा पदान गरिएको शिविरमा दन्तमुख सम्वन्धि ७५ जना, बालरोग १ सय ७५ जना, स्त्रीरोग २ सय ५० र साधारण चिकित्सा सम्वन्धि १ सय जनाको परीक्षण गरिएको गणले जनाएको छ ।
शिविरमा नम्बर २२ फि.ए. गुल्मका डाक्टर प्रदिप केसी, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनरल फिजिसियन डाक्टर बद्रि बैदवार, आम्दा अस्पतालका बरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर शतिस रुपाखोती, बालरोग विशेषज्ञ डाक्टर रमेश किशोर केसी, स्त्रीरोग विशेषज्ञ डाक्टर मन्जिला कुमारी यादव, दन्तरोग विशेषज्ञ डाक्टर वर्षा थापा, डाक्टर बर्षा पन्थी लगायतको चिकित्सकीय टोलीले विरामीहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।
कार्यक्रममा जबरजंग गणका गणपति प्रमुख सेनानी रमेश लामा, नम्बर २२ बाहिनी अड्का बाहिनीपति सहायक रथी राजु बस्न्यात, रुपन्देहीका सांसद सर्वेन्द्रनाथ शुक्ला लगायतले शिविरको अवलोकन गर्दै ग्रामीण स्तरमा गरिने यस्ता शिविरले स्वास्थोपचारमा पहुँच नपुगेकाहरुलाई उपचारमा पहुँच पुग्ने भएकाले निःशुल्क स्वास्थ्य शिविरको निरन्तरताको कामना गर्नु भएको थियो । गणको आन्तरिक स्रोतबाट १/४६ को फौजले शिविर संचालन गरेको गणका क्याप्टेन नरेश अर्यालले जानकारी दिनुभयो ।