
बुटवल, १९ चैत । नेप्से परिसूचक गणना गर्ने गरी २०५० पुस २९ देखि नियमित कारोबार सुरु भएको नेपालको शेयर कारोवार यस क्षेत्रमै पहिलो पटक बुटवलबाट सुरु भएको छ । आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालीले बुटवलको ट्राफिकचोकमा रिमोट वर्क स्टेसन स्थापना गरि गत मंगलबारदेखि शेयर खरिद बिक्रीको काम सुरु गरेको हो ।
काठमाण्डौको अनामनगरबाट शेयर खरिद बिक्री गर्दै आएको कम्पनीले नेपाल स्टक स्क्सचेन्ज लिमिटेडको स्वीकृति पश्चात बुटवलमा शाखा (रिमोट वर्क स्टेशन) सञ्चालन गरेको हो । कार्यालय स्थापना पश्चात शुरुका दिनमा दैनिक सरदर ५० लाखको कारोवार भएको आज बुटवलमा पत्रकार सम्मेलन गरि आर्यताराका सञ्चालक रामचन्द्र भट्टराईले बताउनु भयो । कारोवार सुरु गरेको एक हप्ता नहुँदै कम्पनीले करिव २ सय ग्राहक बनाईसकेको छ । जसमा बैंकर तथा शिक्षकहरु बढी छन् ।
शेयरमा लगानी गर्न चाहनेले कम्पनीमा पहिले ग्राहक परिचय पत्र बनाउनु पर्ने, डिम्याट खाता खोल्नु पर्ने र अर्डर फर्म भर्नुपर्छ । बुटवलबाट कारोवार सुरु गरेको आर्यतारा मार्फत बुटवलबाट सुरुका दिनमा शेयर कारोवार गर्नेले बैंक, ईन्स्योरेन्स्, लघुवित्त र अलिअलि हाईड्रोमा लगानी गरेको उहाँले बताउनु भयो । काठमाण्डौमा होटलमा पनि राम्रै लगानी हुन्छ तर यहाँ होटलमा लगानी गर्ने खासै देखिएन–उहाँले भन्नुभयो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले २०५० सालपछि ३२ वटा ब्रोकर कम्पनीलाई शेयर कारोवारको अनुमति प्रदान गरेपनि ६४ सम्म आईपुग्दा २३ वटा कम्पनीले मात्रै कारोवार गर्दै आएका थिए । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बजार बिस्तार गर्नकालागि ५० वटा ब्रोकर कम्पनी पु¥याउने निर्णय गरि ०६४ सालमा थप २७ वटा कम्पनीकालागि आवेदन आह्वान गरेको थियो । जसमा ३३६ वटा कम्पनीले आवेदन दिएका थिए । त्यसैमध्ये आर्यतारा पनि छनौट भएको थियो । जसको ब्रोकर नं. ५७ छ ।
२०६३ सालमा कम्पनी रजिस्टरको कार्यालयमा दर्ता भएको आर्यतारा कम्पनीले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट शेयर खरिद बिक्री गर्ने अनुमति पाएको छ । सोही अनुसार उक्त कम्पनीले ०६९ को भदौदेखि विधिवत रुपमा शेयर कारोवार सुरु गरेको थियो । जु कम्पनीको हाल अधिकृत पुँजी ५ करोड र चुक्ता पुँजी २ करोड ४० लाख रहेको सञ्चालक भट्टराईले बताउनु भयो ।
काठमाण्डौ उपत्यकामा मात्रै सिमित रहेको शेयर बजारलाई उपत्यका बाहिरका शेयर कारोवार गर्न ईच्छुकले पनि सम्बन्धित ठाउँबाट कारोवार गर्न पाउनुपर्छ भन्ने उद्देश्यले शाखा कार्यालय सञ्चालन गरिएको बताउँदै अर्का सञ्चालक टेकराज भट्टराईले स्वीकृति पाएको खण्डमा दाङ्, भैरहवा, पाल्पामा पनि रिमोट वर्क स्टेसन सञ्चालन गर्न आफूहरु तयार रहेको बताउनु भयो ।