
बुटवल, १९ चैत । पाल्पा भैरवस्थान–रुपन्देही परिवारको साधारण सभा तथा अधिवेशनबाट पुन पुरानै कार्यसमितिलाई निरन्तरता प्रदान गरिएको छ ।
आज शंकरनगर बनबाटिकामा भएको साधारण सभा तथा अधिवेशनबाट पुनः अध्यक्षमा केशव खनाल सहित पुरानै कार्यसमितिलाई निरन्तरता दिईएको निर्वाचन आयुक्त अर्जुन कार्कीले जानकारी दिनुभयो । साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा पाल्पाको भैरवस्थान स्थित भैरवजनता उच्च माबिका पूर्व प्रधानाध्यापक तिलकराम पौडेलले भैरवस्थानबाट रुपन्देहीमा आएर स्थायी वा अस्थायी रुपमा बसोबास गर्नेहरुको एउटा परिवार बनाएर राम्रो कामको थालनी भएको टिप्पणी गर्नुभयो । उहाँले अव संस्थाले त्यहाबाट रुपन्देहीमा आएका व्यक्तिलाई हरेक कुरामा सहयोग र भाईचारा बढाउन पनि सुझाव दिनुभयो ।
कार्यक्रममा संस्थाका परियोजनाकार तथा संरक्षक मेघराज कंडेलले प्रतिवेदन प्रस्तुत गर्दै संस्था भैरवस्थान र रुपन्देहीलाई जोड्ने पुलको रुपमा स्थापना गरिएको बताउनु भयो ।