वीपीको विचार र जीपीको व्यवहारले मुलुकमा परिवर्तन

230

वीपीको विचार र जीपीको व्यवहारले मुलुकमा परिवर्तन

बुटवल, १९ चैत । गिरिजाप्रसाद कोइराला पछिल्लो समयका युग पुरुष भएको बुद्धिजिवी तथा विभिन्न राजनीतिक दलका नेताहरुले बताएका छन् ।

जिपी कोइराला स्मृती प्रतिष्ठान रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमीकाका कारण मुलुकमा दशक लामो द्वन्दपछि शान्ति प्रक्रियामा अघि बढेको र संविधान सभा, गणतन्त्र घोषणा जस्ता महत्वपूर्ण राजनीतिक परिबर्तन भएको उनीहरुको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले राजनीतिक परिवर्तनमा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले अहिलेको राजनीतिक परिदृष्य पनि कोइरालाकै बाटोबाट अंगाडी बढेको बताउनु भयो ।

गिरिजाप्रसाद कोइरालासँग लामो समय विताउनुभएका राजनीतिक तथा समाज शास्त्री डा. हरि शर्माले वीपी कोइराला शिखर पुरुष भएजस्तै गिरिजाप्रसाद कोइराला बर्तमान राजनीतिको युग पुरुष भएको टिप्पणी गर्नूभयो । उहाँले लामो राजनीतिक कालखण्ड बेहोरेका गिरिजाप्रसाद कोइराला गतिशिल र कार्यकर्तासँग सहज पहुँच भएको नेता समेत भएको उल्लेख गर्नुभयो । कार्यक्रममा अर्का बक्ता न्यायपरिसदका पूर्व सदस्य तथा डेमोक्रेटीक लयर्स एशोसिएशनका पूर्व अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बीपीको विचार र जीपीको व्यवहारले मुलुक अघि बढेको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष नन्दराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाली काँग्रेस रुपन्देही ४ का सभापति हरि लम्साल, वीपी कोइराला अध्ययन प्रतिष्ठानका अध्यक्ष युवराज गिरी, एमालेका जिल्ला सदस्य नारायण भट्टराई, माओवादी केन्द्रका कृष्ण पोखरेल, विप्लप माओवादी रुपन्देहीका सेक्रेटरी शरद वली, प्रजातन्त्रबादी प्राध्यापक संगठनका सचिव विष्णु पोखरेल, प्रतिष्ठानका महासचिव काजिमान श्रेष्ठ, सचिव परमानन्द भट्टराई लगायतले स्वर्गीय कोइरालाको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।