बुटवल जेसीजमा उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना

1.3K

बुटवल जेसीजमा उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना

बुटवल, २२ चैत । बुटवल जेसीजले उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गरेको छ । बुटवल जेसीजका मानार्थ सदस्य स्वर्गीय गणेशमान सैजुको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको बुटवल जेसीजले आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

युवा र जेसीज अभियानमा केन्द्रित रहेर पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा योगदान पु¥याउने पत्रकारलाई सम्मानकालागि ‘बुटवल जेसीज स्व. गणेशमान सैंजु स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार’ स्थापना गरिएको पत्रकार सम्मेलनमा बुटवल जेसीजका अध्यक्ष राजेन्द्र घिमिरेले जानकारी गराउनु भयो । बुटवल जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय जेसीजका पूर्व उपाध्यक्ष समेत रहनु भएका अनुपमान सैंजुले आफ्ना पिता स्वर्गीय गणेशमान सैंजुको स्मृतिमा अक्षय कोष स्थापनाकालागि ५० हजार १ सय ११ रुपैंया प्रदान गर्नुभएको छ । उक्त अक्षयकोषबाट प्राप्त व्याजबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई ५ हजार १ सय ११ रुपैंया नगद पुरस्कार प्रदान गरिने छ ।

पुरस्कार वितरण निर्देशिका निर्माणकालागि जेसीजका सदस्य सिपि खनालको संयोजकत्वमा रमेश अर्याल र दिनेश खड्का सदस्य रहेको समिति समेत गठन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । बुटवल जेसीजले पत्रकारिता र जेसीज अभियानका सन्दर्भमा फरक तरिकाले सोँच अंघि बढाएको र सोही अनुसार पत्रकारिताको सम्मानकालागि सानै भएपनि पुरस्कार स्थापना गरिएको उहाँले बताउनु भयो ।

पत्रकार सम्मेलनमा पुरस्कारकालागि अक्षयकोष दाता अनुपमान सैंजुले आफ्ना पिताले पत्रकारिता प्रति देखाएको सद्भावलाई सम्मान गर्नकालागि पनि पुरस्कार स्थापनाकालागि आफूले सहयोग गरेको बताउनु भयो । पत्रकार सम्मेलनमा बुटवल जेसीजका पूर्व अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजु पौडेल लगायतले भनाई सहित जेसीजमा राम्रो कामको सुरुवात भएको बताउनु भएको थियो ।