बुटवलको मेयर बन्न काँग्रेसमा आकांक्षी धेरै

1.3K

बुटवलको मेयर बन्न काँग्रेसमा आकांक्षी धेरै

बुटवल, २२ चैत । सरकारले बैशाख ३१ गतेलाई घोषणा गरेको आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा काँग्रेसमा आकांक्षी बढी देखिएका छन् । सरकारले हालै मात्रै उपमहानगरपालिका घोषणा गरेको बुटवलमा यस अंगाडी एक पटक नेपाली काँग्रेसका उम्मेद्वारले मेयर पदमा चुनाव जितेका थिए भने एक पटक एमालेका उम्मेद्वारले चुनाव जितेका थिए ।

२०४६ सालको राजनीतिक परिवर्तन पछि पहिलो पटक ०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वार स्वर्गीय सूर्यप्रसाद प्रधानले मेयर पदमा चुनाव जित्नुभएको थियो भने ०५४ को चुनावमा एमालेका नेता भोजप्रसाद श्रेष्ठले चुनाव जित्नु भएको थियो । त्यसयता स्थानीय निकायमा चुनाव हुन सकेको थिएन ।

०६२/६३ को राजनीतिक परिवर्तन र अंघिल्लो वर्ष मात्रै संघीय संरचना सहितको संविधान जारी भएपछि मुलुकमा पहिलो पटक स्थानीय तहमा निर्वाचन हुन लागेको हो । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि राजनीतिक दलहरुमा एक प्रकारको उत्साह थपेको देखिन्छ भने अर्को तर्फ अब टिकटकालागि नेताहरुको दौडधुप पनि बढेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसमा मेयर पदका आकांक्षी अन्य दलमा भन्दा बढी देखिएको छ । नेपाली काँग्रेसबाट बुटवल उपमहानगरपालिकाको मेयर पदमा क्षेत्र नं. ४ का सभापति हरि लम्साल, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, महाधिवेशन प्रतिनीधि रामबहादुर कार्की, युवराज गिरी, काजिमान श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, पूर्व क्षेत्रीय सभापति हरिबहादुर आचार्यले आकाँक्षा व्यक्त गर्नुभएको छ । त्यस्तै बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, पुराना जनप्रतिनीधि रामेश्वर श्रेष्ठ, नेता हरिध्वज मल्लको नाम पनि चर्चामा छन् ।

संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले उम्मेद्वार छनौटकोलागि जिल्लामा कार्यदल बनाएको छ । जसमा पार्टी सभापति, पार्टी अधिवेशनमा सभापतिका प्रत्यासी, सांसदका उम्मेद्वार तथा क्षेत्रीय सभापति तथा क्षेत्रीय सभापतिका प्रत्यासी रहनेछन् । एक पदकालागि आकांक्षा राख्नेहरु धेरै भएकाले काँग्रेसमा मिलाउन पनि उत्तिकै समस्या छ । त्यस्तै नेकपा एमालेमा बुटवल उपमहानगरपालिकाको मेयर पदकालागि पूर्व मेयर भोजप्रसाद श्रेष्ठ, व्यबसायिक पृष्ठ भूमिका गोपाल राना, औषधी व्यबसायी बाबुराम भट्टराई, कमल गौतम, जिल्ला अध्यक्ष शिव सुवेदी र पत्रकारिता पृष्ठभूमिका बालकृष्ण चापागाईको नाम पनि चर्चामा छ ।

एमालेले उपमहानगरपालिका र महानगरपालिकाको उम्मेद्वारको चयन केन्द्रीय समितिले गर्ने र नगर तथा गाउँपालिकाको मेयरको उम्मेद्वार प्रदेश समितिले गर्ने प्रावधान बनाएको छ । बुटवल उपमहानगरपालिकामा मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस र एमाले बिचमै हुने देखिन्छ । यद्यपी नेकपा माओवादी केन्द्रमा पनि उम्मेद्वारको चर्चा देखिन्छ । नेकपा माओवादी केन्द्रमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद वञ्जाडे र क्षेत्र नं. ४ का सहसंयोजक हरि घिमिरे, कृष्ण पोखरेल, नगर ईञ्चार्ज सुदिप न्यौपानेको चर्चा छ ।

बुटवलमा नेकपा माओवादी केन्द्र कमजोर भएको र पार्टीले पनि उपर्युक्त दलसंग चुनावी तालमेल गर्न सकिने नीति लिएकाले चुनावी तालमेल हुन सक्ने तर को संग कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल नभईसकेको क्षेत्रीय सहसंयोजक घिमिरेले बताउनु भयो । संविधान सभाको चुनावमा केन्द्रीय नेता बाबुराम भट्टराईले समेत प्रतिस्पर्धा गर्दा ठूलो मत अन्तरले चुनाव हारेकाले पनि माओवादीको सम्भावना नदेखिएको कतिपयको विश्लेषण छ । साना दलले प्रतिस्पर्धा गरेपनि उनीहरुको नतिजा खासै नआउने पक्का छ । यसले पनि मुख्य ठूला दुई दलले पहिले उम्मेद्वार तय गर्ने र त्यसपछि साना दललाई मिलाउने रणनीति बनाएको बुझिन्छ ।

रुपन्देही जिल्लामा १६ वटा स्थानीय तह छन् । जसमा सबैभन्दा बढी चर्चामा बुटवल उपमहानगरपालिका छ । बुटवल पुर्व–पश्चिम र उत्तर दक्षिणको संगम पनि भएको र बुटवलले केन्द्रसम्म प्रभाव राख्ने भएकाले पनि बुटवलमा मेयर बन्ने आकांक्षा राख्नु स्वभाविकै हो । १९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा करिव ६६ हजार ९० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख होमनाथ गौतमले बताउनु भयो । बुटवल उपमहानगरपालिकामा निर्वाचन कार्यालयले २० वटा मतदान केन्द्र निर्धारण गरिसकेको छ । रुपन्देहीमा आसन्न निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।