
बुटवल, २३ चैत । गान्धी ग्लोबल फेमिली नेपालले भारत सरकारको सहयोगमा बिभिन्न जिल्लामा सञ्चालन गर्दै आएको मधुमेह (सुगर) रोग स्वास्थ्य परीक्षण शिबिर रुपन्देहीमा पनि गर्ने भएको छ ।
मधुमेहले नेपालमा महामारीको रुप लिँदै गरेको र यो रोगबाट कसरी बँच्न सकिन्छ, उपचारमा के कस्तो उपाय अपनाउँदा राम्रो हुन्छ भन्ने कुराको जनचेतना अभिबृद्धि गर्नका लागि शिबिर सञ्चालन गर्न लागिएको गान्धी ग्लोवल फेमिली नेपालका अध्यक्ष सूर्य भुसालले बताउनु भयो ।
ग्लोवल फेमिली नेपालले काठमाण्डौ, सिन्धुपाल्चोक, पर्सा, नवलपरासी, धादिङ्, रुपन्देही लगयातका बिभिन्न ११ जिल्लामा सञ्चालन गरेको यो निःशुल्क शिबिर कार्यक्रमबाट २५ हजार जनाले प्रत्यक्ष सेवा लिईसकेको उहाँले बताउनु भयो ।
सन् २०१४ देखि सुरु गरेको यो कार्यक्रम रुपन्देहीमा यहि चैतको २५ गतेदेखि शुरु गर्न लागिएको आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । जसमा रुपन्देहीमा मात्रै दुई हजार ८ सय जनालाई रगत परीक्षण गरिने तथा त्यसमध्ये सुगरमा ४ सय बिरामीलाई एड्भान्स ल्याव टेष्ट र ६ महिनाकालागि ईन्सुलीन बाहेकको औषधी निःशुल्क वितरण गरिने उहाँले बताउनु भयो ।
रुपन्देहीका बिभिन्न स्थानमा सञ्चालनको तयारी गरिएपनि स्थानीय चुनावका कारण तत्कालै गर्ने की चुनाव पछि गर्ने भन्ने एकिन नभईसकेको बताउँदै उद्घाटन कार्यक्रम सैनामैनाको पर्रोहा उच्च माविमा गरिने पत्रकार सम्मेलनमा जानकारी गराईयो । उक्त कार्यक्रममा भारतीय दुतावासका प्रतिनीधि भारतीय गार्खा रेजिमेन्टका रिटायर्ड ब्रिगेडियर पिएल गुरुङ् आउनुहुने तय भएको छ ।
अध्यक्ष भुसालले निःशुल्क रुपमा रोगको परीक्षण हुने भएकाले सहभागी हुन सर्वसाधरणलाई आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा मेडिटेक हस्पिटलका प्रबन्ध निर्देशक गोविन्द खनाल, पत्रकार विष्णु भुसाल, कार्यक्रम संयोजक रिम बस्नेत लगायतले शिबिरका बारेमा जानकारी गराउनु भएको थियो ।