
पाल्पा, २४ चैत । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मुलुक भरी चुनावको माहोल तातेको छ । २०५४ सालमा पछिल्लो पटक भएको स्थानीय निकायको निर्वाचन मुलुकको स्थानीय तहको पुनर्संरचना सहित २० वर्षमा आगामी बैशाखमा हुँदैछ । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा अधिकांस स्थानमा पुराना नेताले नेतृत्वमा दावी गरिरहँदा युवामा पनि उत्तिकै आकांक्षा देखिएको छ ।
भर्खरै मात्रै स्थानीय तहको पुनर्संरचना भएको र पुनर्संरचना सहितको स्थानीय तहमा नेतृत्व लिनकालागि युवाहरुमा आकांक्षा आउनुले मुलुकले साँच्चै परिवर्तन खोजेको हो की भन्ने आभास गराएको छ ।
स्वभाविक रुपमा पुराना नेताले आकांक्षा गरिरहँदा त्यसलाई चिर्दै पाल्पाको रिप्दीकोट गाउँ पालिकामा नेतृत्व लिनका लागि युवाहरु कम्मर कसेर लागि परेका छन् । संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका पुराना र पाका नेताको आकांक्षालाई चिर्दै युवा नेता धनबहादुर रायमाझी तथा एमालेका पुराना नेताको आकांक्षालाई चिर्दै युवा नेता तुलबहादुर अधिकारीले गाउँ पालिकाको अध्यक्षमा आकांक्षा व्यक्त गर्नुभएको छ ।
रायमाझी नेपाली काँग्रेस पाल्पाको जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ भने अधिकारी युवा संघ नेपालको लुम्बिनी अञ्चल अध्यक्ष र पाल्पाको जिल्ला सदस्य हुनुहुन्छ । त्यसो त नेपाली काँग्रेसबाट पुराना र पाका नेताहरु गोबिन्द आचार्य र हिराधर आचार्यले पनि आकांक्षा व्यक्त गर्नुभएको छ भने एमालेमा झन् धेरै नेताको आकांक्षा छ । एमालेबाट गाउँपालिकाको अध्यक्ष पदकालागि साविक भैरवस्थान गाबिसका अध्यक्ष समेत रहेका दुर्गा खनाल, नारायण जिसी, बिष्णु खनाल, राजकुमार श्रेष्ठ, चिरञ्जिवी पोखरेल, रामजी भट्टराई लगायतका नेताको आकांक्षा छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रमा पनि युवाको आकांक्षा छ । उक्त पार्टीबाट केन्द्रीय सदस्य समेत रहेका आशिष दुधराज, नविन घर्ती, तथा राष्ट्रिय जनमोर्चाबाट जिल्ला सचिव समेत रहेका तिलक गाहाको चर्चा छ । उनीहरु सबै युवा हुन् । त्यसबाहेक माओवादी केन्द्रबाट राजेन्द्र नेपाल, मेघराज आर्चाय र राप्रपाबाट डुलबहादुर कुवंरको चर्चा छ । अधिकांश युवा आकांक्षी वडा नं. ४ भैरवस्थानका हुन् । कांग्रेसका धनबहादुर रायमाझी, एमालेका तुलबहादुर अधिकारी, राष्ट्रिय जनमोर्चाका तिलक गाहा र माओवादी केन्द्रका आशिष दुधराज भैरवस्थानका हुन् ।
रिप्दीकोट गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमाले बिचमै प्रतिस्पर्धा हुने देखिन्छ । लामो समयसम्म स्थानीय निकायमा निर्वाचन हुन नसकेको र त्यसैका कारण नेतृत्व जाम भएकाले पनि पुराना देखि युवा नेतासम्म आकांक्षी देखिएका हुन् ।