अंचल अस्पतालमा मानसिक स्वास्थ्य सेवा

293

अंचल अस्पतालमा मानसिक स्वास्थ्य सेवा

बुटवल, २४ चैत । भोलि अप्रिल ७, ६९ औं विश्व स्वास्थ्य दिवस । विश्व स्वास्थ्य संगठनले यो वर्षकालागि ‘उदासीपनका बारेमा कुरा गरौं’ भन्ने नारा तय गरेको छ ।

स्वास्थ्यका क्षेत्रमा मानसिक स्वास्थ्य ओझेलमा परेको छ । मानसिक स्वास्थ्यका लागि पर्याप्त जनशक्ति र भौतिक संरचना नहुनु, बिरामीमा हिनताबोध र भेदभावका कारण पनि मानसिक रोगीहरुको संख्या बढ्दै गएको छ । यसकारण मानसिक स्वास्थ्य र रोगका बारेमा अगाडी सरेर खुलेर कुराकानी गरिनु पर्दछ भन्ने विशेषज्ञहरुले ठहर गरेका छन् । यसै कारणले विश्व स्वास्थ्य संगठनले यस वर्षको नारालाई मानसिक स्वास्थ्यमा केन्द्रित गरेको हो ।

मानसिक रोगहरुमध्ये पनि उदासीपना सबैभन्दा प्रमुख मानसिक समस्या हो । तथ्याङ्कले पनि सन् २०३० सम्ममा डिप्रेसन÷उदासीपना रोगहरुमा पहिलो कोटीमा पुग्ने अनुमान गर्न सकिन्छ । यसर्थ पनि उदासीपनको बारेमा खुलेर कुराकानी, छलफल, वादविवाद गरेर यसको मूल समस्या केलाई निराकरणको दिशामा अगाडि बढ्नु पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

यसै सन्दर्भमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा शुक्रबार मानसिक स्वास्थ्य सेवाको औपचारिक रुपमा उद्घाटन गरिँदै छ । लुम्बिनी अञ्चल अस्पताल बिकास समितिले मानसिक रोग विशेषज्ञ डा. श्रेया पौडेललाई विगत केही महिनादेखि मेडिकल अधिकृतको रुपमा नियुक्ति गरेको थियो । त्यस्तै हालै स्वास्थ्य मन्त्रालयले कन्सल्टेण्ट साइकियाट्रिस्ट डा. सुरज तिवारीलाई लुम्बिनी अञ्चल अस्पतालमा सरुवा गरेपछि उक्त सेवालाई स्थायी रुप दिलाएको अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा अस्पतालमा आश्रीत जनताको लागि यो खुसीको कुरा भएको समेत उल्लेख गरिएको छ ।

उक्त सेवाको औपचारिक उद्घाटन कार्यक्रममा सहभागि हुनकालागि स्वास्थ्यकर्मी, कर्मचारी तथा आम समुदायलाई अस्पतालले अपिल गरेको छ ।