
भैरहवा, २४ चैत । आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा विशाल आमसभा गर्ने भएको छ । संविधानमा भएका अन्तरबस्तु, पार्टीको धारणा तथा सवै नेपाली बीच एकता र सद्भावको शन्देस फैलाउने उदेश्यले यही चैत २९ गते भैरहवामा सभाको आयोजना गरिएको नेपाली काँग्रेस रुपन्देहीका सभापति एवं सांसद अब्दुल रज्जाकले जानकारी दिनुभयो । भेलालाई केन्द्रीय नेताहरुले सम्वोधन गर्ने छन् ।
नेपाली काँग्रेसले प्रजातन्त्र, लोकतन्त्र स्थापना, संविधान लेखन, शान्तिप्रक्रिया, सँविधान सशोधन तथा हाल अरुदलहरुलाई निर्वाचनमा सहभागी गराउन गरिरहेको पहलका बारेमा उक्त भेलामा प्रस्ट पारिने उहांले बताउनु भयो । नेपाली काँगे्रस केन्द्रिय निर्वाचन परिचालन समितिको आयोजना अन्तरगत आम सभा भैरहवाको गल्लामण्डी स्थित हनुमान मन्दिर परिसरमा आयोजना गरिने छ । केही दिन अघि नेपाली काँग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो । उक्त समितिले पहिलो सभा कैलाली र दोस्रो दाङ्गको तुल्सीपुरमा गर्ने छ । तेस्रो भेला रुपन्देहीको भैरहवामा हुन लागेको हो ।
आमसभाको पूर्व सन्ध्यामा भैरहवामा ¥याली निकालिने छ । सो आम सभालाई सम्पन्न गराउनका लागि विभिन्न समितिहरु गठन गरिएका छन् । जसमा जिल्ला सचिव रामकृष्ण खाँणको संयोजकत्वमा रुपन्देहीका सात वटा क्षेत्रका क्षेत्रीय सभापति सदस्य रहेको यातायात व्यवस्थापन समिति गठन गरिएको छ । कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने संयोजक रहेको आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा रामेश्वर श्रेष्ठ र सुरेन्द्र जङ्ग थापा रहनु भएको छ ।
यस्तै जिल्ला सदस्य विशेश्वरप्रसाद बस्याल संयोजकत्वमा जिल्ला सदस्य शिवराम न्यौपाने र नेपाल पे्रस युनियन रुपन्देहीका सबै सदस्य रहने गरी प्रचार प्रसार समिति गठन गरिएको छ । त्यस्तै ओमकुमार श्रेष्ठ संयोजक तथा जिल्ला सदस्य विष्णु थापा र रामकिसन विक सदस्य रहेको मञ्च व्यबस्थापन समिति गठन गरिएको छ । यसैगरी नेपाल तरुण दल रुपन्देहीका सभापति सोमबहादुर गुरुङ्ग तथा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु स्वयसेवक समितिमा रहने छन् । यस्तै निर्वाचन घोषण पत्र तयारी समितिमा हरिप्रसाद काफ्ले संयोजक तथा पार्टीका ७ वटै क्षेत्रका क्षेत्रीय सभापति सदस्य रहेको समिति गठन गरिएको छ । आम सभालाई सफल पार्न तयारी तिव्र पारिएको र भातृ तथा शुभेच्छुक संस्थाहरुसंग समेत छलफल गरिएको सचिव रामकृष्ण खांणले जानकारी दिनुभयो ।