
बुटवल, २५ चैत । लुम्बिनी अञ्चल अस्पतालमा मानसिक स्वास्थ्य विभागबाट सेवा प्रारम्भ गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर आज एक कार्यक्रमका बिच मानसिक स्वास्थ्य विभागको उद्घाटन गर्नुका साथै उक्त विभावबाट सेवा प्रारम्भ गरिएको हो ।
उक्त विभागको लुम्बिनी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनाल तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र सन्जेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । मानसिक स्वास्थ्य विभागको उद्घाटनसंगै लुम्बिनी अञ्चल अस्पतालबाट अव बिरामीले १० प्रकारका विशेषज्ञ सेवा पाउने छन् ।
विभागको उद्घाटन गर्दै अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले मानसिक स्थास्थ्य समस्या अव अस्पतालमै समाधान हुने बताउनु भयो । उहाँले मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई रोग नलुकाउन आग्रह गर्दै उपचार पाए त्यस्ता सबै खाले समस्याको निधान हुने भएकाले त्यस्ता बिरामीलाई अस्पतालसम्म ल्याउनकालागि पनि बिरामीका आफन्तलाई आग्रह गर्नुभयो । अञ्चल अस्पतालमा सेवा नभएका कारण हालसम्म मानसिक स्वास्थ्य समस्याका बिरामीलाई बाहिर रिफर गर्दै आएको थियो । अस्पतालको भौतिक पूर्वाधार निर्माण भईरहेको र निर्माण पुरा भएपछि मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई पनि भर्ना लिने व्यबस्था मिलाउने मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्र सन्जेलले बताउनु भयो । सेवा प्रारम्भमा स्वागत गर्दै कन्सल्टेण्ट साइकियाट्रिस्ट डा. सुरज तिवारीले मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको र सुरु भएको सेवामा सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।
सरकारले जनरल मेडिसिन, जनरल सर्जरी, वालरोग विभाग, हाड तथा नशा, नाक कान घाँटी, स्त्री तथा प्रसुती, दाँत, छाला, मुटु, मानसिक स्वास्थ्य, पेट तथा आन्द्रा सर्जरी, नेट्रोलोजी, युरोलोजी, युरो सर्जरी र न्युरोसर्जरी गरी १५ वटा विशेषज्ञ सेवा अञ्चल अस्पतालबाट प्रदान गर्ने नीति बनाएको छ । सोही अनुसार लुम्बिनी अञ्चल अस्पतालमा सेवा सञ्चालन गर्न बाँकी रहेका पेट तथा आन्द्रा सर्जरी, नेट्रोलोजी, युरोलोजी, युरोसर्जरी र न्युरोसर्जरी समेत सञ्चालन गर्ने तयारी गरेको अस्पतालका सूचना अधिकारी लक्ष्मीराज रेग्मीले जानकारी गराउनु भयो ।
सोही अवसरमा अस्पतालले हेप्प डेस्क सेमत स्थापना गरि उद्घाटन गरेको छ । अस्पतालमा आएका बिरामी तथा उनका आफन्तले सहि सूचना पाउन र झमेला व्यहोर्न नपरोस भन्ने हेतुले हेल्प डेस्क स्थापना गरिएको मेसु सञ्जेलले बताउनु भयो । विश्व स्वास्थ्य संगठनको स्थापना भएको दिन अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउँदै आईएको छ । यो वर्ष ६९ औं विश्व स्वास्थ्य दिवस ‘उदासीपनका बारेमा कुरा गरौं’ भन्ने नाराका साथ मनाईँदैछ । मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएकाले विश्व स्वास्थ्य संगठनले त्यसको न्यूनिकरणकालागि नारामा समेत मानसिक स्वास्थ्यलाई जोड दिएको हो ।