काउन रुपन्देहीमा लामा

1.3K

काउन रुपन्देहीमा लामा

बुटवल, २५ चैत । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) रुपन्देहीको तेस्रो अधिवेशन तथा चौथो साधारण सभा आज बुटवलमा सम्पन्न भएको छ ।

अधिवेशनले आगामी ४ वर्षे कार्यकालकालागि बिरबहादुर लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हिराबहादुर थापा, महिला उपाध्यक्षमा देउकी थारु, सचिवमा कृष्णप्रसाद चौधरी, सहसचिवमा नरसिंह राव र कोषाध्यक्षमा मानबहादुर सिंजाली निर्बिरोध निर्वाचित हुनु भएको छ । त्यस्तै महिला सदस्यमा शारदा थारु तथा खुल्ला सदस्यहरुमा बिजयनाथ यादव, दधिराम थारु, केदारनाथ चौधरी, भरत चौधरी, यकिन खान, बिन्दु थारु, बलबहादुर बिक, मोहन यादव सर्बसम्मत चयन भएको निर्वाचन अधिकृत खिमानन्द भट्टराईले बताउनु भयो ।

यस अंगाडी साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल निर्माण तथा संवद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवि गुरुङ्ले संघले मजदुरका पक्षमा वकालत गर्ने र उनीहरुका मुद्धालाई पैरवी गर्ने काम गरिरहेको बताउनु भयो । उहाँले मजुर समस्या समाधानकालागि नेतृत्वले के गर्दा राम्रो हुन्छ त्यसमा पनि सुझाव सल्लाह दिन आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले संघीय संरचना अनुसार काउनको संरचना पनि परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले ट्रेड युनियन आन्दोलनलाई ससक्त बनाउनकालागि जिल्लालाई बलियो बनाउनु पर्ने र स्थानीय तहका इकाईहरुको पनि समयानुकुल नाम र संरचना परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला अध्यक्ष सुशिल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण तथा संवद्ध श्रमिक संघका केन्द्रीय उपाध्यक्ष ओमप्रसाद चौधरी, यातायात मजदुर संघका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष कृष्ण वेलवासे, सल्लाहकार बिरबहादुर लामा, बुटवल इकाई अध्यक्ष सूर्यदेव दास, फर्साटिकर इकाईका अध्यक्ष रमेश मुराउ, पत्रकार खिमानन्द भट्टराई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका सचिव हिराबहादुर थापाको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष मानबहादुर सिंजालीले स्वागत गर्नुभएको थियो ।