
बुटवल, २६ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने र त्यसमा कसैले पनि शंका नगर्न आग्रह गर्नुभएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्नका लागि नेपाली काँग्रेस प्रतिवद्ध रहेको बताउँदै उहाँले निर्वाचन गराउनकै लागि सरकारले हर प्रयासहरु गरिरहेको बताउनु भयो ।
उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएपनि नेपाली काँग्रेसमाथि संशोधन प्रस्ताव गरेको आरोप लागेको उल्लेख गर्दै नेपाली काँग्रेसकै भुमिका र योगदानबाट मुलुक यहाँसम्म आएको जिकिर गर्नुभयो । नेपाली काँग्रेस सैनामैना नगर समितिले सैनामैनाको रामापुरमा गरेको प्रथम नगर सभालाई सम्बोधन गर्दै नेता पौडेलले सरकारले ल्याएको पहाड र तराईलाई छुट्याउने संशोधन प्रस्तावले गाउँलाई बेसीसंग र खेतलाई कुलोसंग अलग गरेको संज्ञा दिनुभयो । उहाँले एमाले अध्यक्ष ओली सरकारले गरेको सिंमाङ्कनको खाका आफूले ल्याउँदा सहि र अहिले प्रचण्ड सरकारले ल्याउँदा गलत भन्ने प्रबृत्ति देखाएर एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको उल्लेख गर्नुभयो ।
नेता पौडेलले मधेशवादी दलहरुका स्वभाविक विषयमा नेपाली काँग्रेस सहमत रहेको बताउँदै उहाँले मधेशवादी दललाई पनि निर्वाचनमा सहभागि हुन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले मुलुक चुनावमय निर्वाचन हुन्नकी भनेर आशंका नगर्न कार्यकर्तालाई आग्रह गर्दै चुनावी माहोल बनाउन निर्देशन दिनुभयो ।
नगर सभापति रामप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमममा नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सदस्य सदस्य रामवली चौधरी, रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्साल, ५ का सभापति वसीउल्लाह मुसलमान, महाधिवेसन प्रतिनिधि युवराज गिरी, जिल्ला सदस्य डिल्लीराज ज्ञवाली, नगर समितिका सल्लाहकार कृष्ण पोख्रेल, नेपाल महिला संघ सैनामैना नगर सभापति सीता पोखरेल, नगर सचिव टेकबहादुर रेस्मीलगायतले भनाई राख्नुभएको थियो ।
सोही अवसरमा बिभिन्न पार्टी परित्याग गरि ३ सय ५० जना बढी नेपाली काँग्रेसमा प्रवेश गरेको पार्टीले जनाएको छ । उनीहरुलाई युवा नेता पौडेलले टिका तथा खादा परि¥याई पार्टी प्रवेश गराउनु भएको थियो ।