भार्सेली युवाको पर्यटन प्रवद्र्धन कार्यक्रम

606

भार्सेली युवाको पर्यटन प्रवद्र्धन कार्यक्रम

बुटवल, २७ चैत । समग्र गुल्मीको पर्यटन बिकासकालागि गुल्मीको भार्सेलाई केन्द्रमा राखेर गुल्मी भार्सेली युवा विश्व सञ्जालले पर्यटन प्रवद्र्धनको कार्यक्रम गर्दैछ । गुल्मीको भार्से ऐतिहासिक स्थल पनि भएको र पर्यटन बिकासको राम्रो सम्भावना पनि बोकेको क्षेत्र भएकाले पर्यटन प्रवद्र्धनकालागि अंघिल्लो वर्षदेखि साईकिलिङ् तथा प्याराग्लाईडिङ् कार्यक्रम सुरु गरेको सञ्जालले यो वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिन लागिएको बताएको हो ।

पर्यटन प्रवद्धनकालागि यहि चैतको ३० गते बुटवलबाट सुरु हुने साईकिलिङ् गुल्मीको भोर्सेमा पुगेर प्याराग्लाईडिङ् सहित स्याङ्जाको मिर्मि पुगेर सकिने छ । उक्त साईकिलिङ्मा विश्व साईकिल यात्री पुष्कर शाह, नेपालका प्रमुख प्याराग्लाईडिङ् प्रशिक्षक सानुबाबु सुनुवार पनि सहभागि हुनुहुनेछ । उक्त टोलीमा साईकिलिङ् गर्ने २५ जना सहित अतिथी लगायत गरी करिव ५० जना सहभागि हुने सञ्जालका उपाध्यक्ष सुन्दर गलामीले जानकारी दिनुभयो ।

समुन्द्री सतहदेखि करिव २ हजार ५ सय मिटर उचाईमा रहेको गुल्मीको भार्से गाउँले पृथक प्राकृतिक, ऐतिहासिक, पर्यटकीय, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको र त्यहाँको थाप्ले लेक लुम्बिनी अञ्चलकै अग्लो लेक भएकाले त्यहाबाट बिहानमा सूर्य किरणको स्पर्शबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, मानापाथी लगायतका हिम श्रीङ्खलाको दृष्य मनमोहक बनाउने भएकाले पनि एक पटक पुगेका व्यक्तिलाई अर्को पटक जान उत्साहित बनाउने उक्त कार्यक्रमका संयोजक किसन थापाले बताउनु भयो ।

त्यस्तै तामाखानी, राम्रा राम्रा ढुङ्गाखानी, दुर्लभ जडीबुटी तथा बन्यजन्तुले त्यहाँको आर्थिक बिकासको सम्भावना बोकेको भएपनि त्यसलाई समुचित प्रयोग गर्न नसक्दा बिकासको सम्भावना त्यसै ओझेलमा परेको छ । त्यसैको प्रचार प्रसारकालागि पनि यो कार्यक्रम गर्न लागिएको उहाँले बताउनु भयो । त्यहाँको पर्यटन प्रवद्र्धनकै लागि अंघिल्लो वर्ष मरेडाडाबाट प्याराग्लाईडिङ् परिक्षण उडान गरिएको थियो । उक्त परिक्षणबाट सुरक्षित प्याराग्लाईडिङ् उडान स्थलको परेकोले त्यसको प्रचार प्रसार गर्दै पर्यटक आकर्षणकालागि नयाँ वर्षको सुरुवातीमै कार्यक्रम गर्न लागिएको हो ।

गुल्मीको सत्यवती गाबिस वडा नं. ८ भार्सेबाट बसाई सराई गरी बिभिन्न ठाउँमा बसोबास गरेका युवाहरुको सञ्जालले सञ्चालन गर्ने उक्त साईकिलिङ्मा प्रोफेसनल साईकल यात्रीहरु सहभागि हुनेछन् । जलबायु परिवर्तनबाट उत्पन्न ठूलो क्षतीलाई न्यूनिकरण गर्न साईकल प्रयोगको फाईदा, साइकल यात्राबाट स्वथ्य रहन सकिने सन्देश दिन, भार्सेका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्न, पर्यटनको क्षेत्रमा नयाँ आयाम थपी स्थानीय स्तरमा राजगारीको सिर्जना गर्ने लगायतका उद्देश्य सहित कार्यक्रम गर्न लागिएको हो ।