आइजिपीमा प्रकाश अर्याल नियुक्त

436

आइजिपीमा प्रकाश अर्याल नियुक्त

काठमाडौं, २८ चैत । नेपाल प्रहरीको नयां महानिरीक्षकमा (आइजिपी) प्रकाश अर्याल नियुक्त हुनु भएको छ । सरकारले डिआइजी अर्याललाई आइजिपीमा नियुक्त गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत डिआइजी अर्याललाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले जानकारी दिनुभयो ।

यसअघि सरकारले माघ २९ गते डिआइजी जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो । तर चैत ८ गते सर्वोच्च अदालतले सरकारी निर्णय बदर गरिदिएको थियो । आइजिपी नियुक्तिसम्बन्धी विवाद अदालतसम्म पुगेपछि सरकारले नेपाल प्रहरीकै प्राविधिक तर्फका एआइजी डाक्टर दिनेशचन्द्र पोखरेललाई निमित्त प्रमुख बनाएको थियो ।

दाङको त्रिभुवन नगरपालिका–११ मा २०२० असार १४ गते जन्मिएका प्रकाश अर्याल २०४४ चैत १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नु भएको थियो । दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर, कास्कीमा उहा प्रहरी प्रमुख भएर काम गर्नुभयो । उहां अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख पनि हुनुभयो । प्रहरीमा अर्याल कडा स्वभावका अधिकृतका रूपमा गनिनुहुन्छ ।