
बुटवल, २९ चैत । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सुरक्षाकालागि सिमामा खटिएका मधेशी जनतालाई एमालेले हेपेको आरोप लगाउनु भएको छ । सदियौंदेखि मुलुकको सिमा सुरक्षामा बसेर नेपाली भूभागको रक्षा गरेका मधेशी जनतालाई एमालले राष्ट्रघाती भनेर अपमान गरेको सभापति देउवाले उल्लेख गर्नुभयो ।
मधेशी जनताको भावनाको करद गर्दै संविधान संशोधन प्रस्ताव पेस गरेको र संशोधन प्रस्ताव पास गरेर मधेशी जनताको भावनाको सम्मान गर्न नेपाली काँग्रेस तयार रहेको उहाँले बताउनु भयो । एमालेको पहाडीया राष्ट्रवादले मधेशी र पहाडी समुदाय बिच द्वन्द्व चर्काउने काम गरेको र त्यो मुलुकको हित विपरित रहेको बताउँदै सभापति देउवाले ती तत्वहरुसित सावधान हुन आग्रह गर्नुभयो । नेपाली काँग्रेसको स्थापना मधेशमै भएको स्मरण गर्दै सभापति देउवाले काँग्रेस मधेशी जनताको समेत पार्टी भएको उल्लेख गर्नुभयो ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि चुनाव लक्षित देश दौडाहा कार्यक्रम अन्तरगत आज रुपन्देहीको भैरहवामा नेपाली काँग्रेसले आयोजना गरेको बिशाल आम सभामा बोल्दै सभापति देउवाले सिंह दरवारको अधिकारी स्थानीय तहमा उपलब्ध गराउन र जारी संविधानको कार्यान्वयनकालागि निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
घोषणा भएको चुनाव जुनसुकै हालतमा पनि हुने बताउँदै उहाँले चुनाव हुन्छ की हुँदैन भन्ने आशंका नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । सभापति देउवाले स्थानीय तहको निर्वाचनमा उमेद्वार छनौट गर्दा मेरो तेरो भन्दा पनि योग्य व्यक्तिलाई उम्मेद्वार बनाईने र कोही बिद्रोही बनेमा पार्टीले कारवाही गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो वा त्यो बहानामा चुनाव रोक्न नहुने बताउँदै चुनावको वातावरण बिगार्न र मधेशीलाई भड्काउने कुरा नगर्न एमालेका नेतालाई आग्रह गनुभयो । उहाँले हिमाल, पहाड र तराईका जनताको एकता नै राष्ट्रियता भएको जिकिर गर्दै नक्कली राष्ट्रियताको खण्डित मनस्थिती नलिन पनि उहाँले एमालेलाई सुझाव दिनुभयो । मुलुकमा चुनावी जागरण आईसकेको बताउँदै उहाँले चुनाव पछि संविधानले ठोस आकार लिने उल्लेख गर्नुभयो । उहाँले २० वर्षसम्म माओवादीले चुनाव गराउने वातावरण विगारेर के हासिल गरे र अव फेरी मधेशी दलले चुनाव रोकेर के कुरा हासिल गर्न खोज्दैछन् ? त्यसको जवाफ जनतालाई दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा पार्टीका महामन्त्री डा. सशांक कोईरालाले घोषणा भएको स्थानीय तहको निर्वाचनले प्रदेश र केन्द्रको चुनावसम्म प्रभाव राख्ने भएकाले स्थानीय चुनाव नेपाली काँग्रेसको जीवन मरणको सवाल भएको उल्लेख गर्नुभयो । ‘यो चुनाव जुनसुकै हालतमा पनि नेपाली काँग्रेसले जित्नुपर्छ’ उहाँले भन्नुभयो–‘चुनावमा बागी उमेद्वार बने पार्टीले कडा कारवाही गर्नेछ ।’ उहाँले चुनाव र संविधानको कार्यान्वयन पछि बिकासले गति लिने पनि बताउनु भयो ।
पार्टीका केन्द्रीय सदस्य, सरकारका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले मधेशी दललाई संविधानको अपनत्व गराई संविधान कार्यान्वयन गराउने नेपाली काँग्रेसको लिखित र घोषित प्रतिवद्धता भएको उल्लेख गर्र्दै त्यसबाट काँग्रेस कत्तिपनि विचलित नहुने बताउनु भयो । संविधान संशोधन र तीन तहको निर्वाचन गराउने सरकारको दायित्व भएको बताउँदै उहाँले नेपालको राजनीतिमा सबैभन्दा ठूलो बाधक एमाले भएको जिकिर गर्नुभयो ।
त्यस्तै पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी र व्यक्ति विशेषका लागि स्थानीय तहको निर्वाचन नभएको र संविधानको कार्यान्वयन तथा जनताको सर्बोपरि हितकालागि भएकाले सबैलाई निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा रक्षामन्त्री बालकृष्ण खाँणले चुनाव जनतालाई चाहिएको र जनताको घरदैलोमा सरकारको उपस्थिती गराउनकालागि चुनाव अपरिहार्य रहेको उल्लेख गर्नुभयो । रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित जनप्रतिनीधि समेत रहनुभएका नेता खाँणले रुपन्देहीलाई नेपाली काँग्रेसको किल्लाका रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नेताहरु दीपक गिरी, हरि नेपाल, सञ्जय गौतम, देवेन्द्रराज कंडेल, रामकृष्ण यादव, रामकृष्ण ताम्राकार, सुरेन्द्रराज आचार्य, भरतकुमार शाह, बिष्णु लामिछाने, अक्तरकलाम मुसलमान, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल बिद्यार्थी संघका अध्यक्ष नयनसिंह महर, महिला संघकी सुमित्रा शर्मा, पार्टी रुपन्देहीका सचिव रामकृष्ण खाँण, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने लगायतले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन एक जुट भएर लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए ।
सोही अवसरमा फोरम लोकतान्त्रिकबाट संविधान सभा निर्वाचनमा क्षेत्र नं. ३ रुपन्देहीबाट प्रत्यक्ष उम्मेद्वार रहेका सन्तराम चौधरी सहित एमाले, माओवादी, राप्रपा लगायतका पार्टी परित्याग गरि ५ सय बढी नेपाली काँग्रेसमा प्रवेश गरेको पार्टी सचिव रामकृष्ण खाँणले बताउनु भयो ।
कार्यक्रममा नेपाल सांस्कृति संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो भने नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीले आकस्मिक स्वास्थ्य शिबिर सञ्चालन गरेको थियो ।