राष्ट्रपति चयनका लागि आज मतदान हुर्दै,भण्डारी राष्ट्रपतिमा निश्चित

227

राष्ट्रपति चयनका लागि आज मतदान हुर्दै,भण्डारी राष्ट्रपतिमा निश्चित

Bidhya-Bhandari-2

काठमाडौं, कात्तिक– मुलुकको दोस्रो राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार मतदान हुँदैछ । निर्वाचनमा सत्तारुढ दलको तर्फबाट एमाले उपाध्यक्ष विद्या भण्डारी र कांग्रेसबाट कुलबहादुर गुरुङबीच प्रतिष्पर्धा हुँदैछ ।

भण्डारीलाई एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा लगायत दलको समर्थन छ । गुरुङलाई कांग्रेस बाहेक अरु दलको समर्थन देखिएको छैन । यसकारण समिकरणमा कुनै नाटकीय र आकश्मिक फेरबदल नभएमा भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ ।

संसदमा अहिले ५ सय ९७ सांसद संख्या कायम रहेकाले निर्वाचित हुन २ सय ९९ मत आवश्यक पर्छ । भण्डारीको पक्षमा एमालेको १ सय ८४, एमाओवादीको ८२, राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२ र साना दलको २३ गरेर ३ सय ४० सांसदको समर्थन देखिन्छ । यस्तै गुरुङको पक्षमा कांग्रेसको २ सय ७ मत मात्र देखिएको छ । यस हिसाबले एमालेकी भण्डारी प्रथम महिला राष्ट्रपति बन्ने निश्चित छ ।

हुन त राष्ट्रपतिको चुनावमा गोप्य मतदान हुन्छ । प्रधानमन्त्री चुनावमा सांसदहरु कुन उम्मेदवारको पक्षमा लाइनमा उभिएका छन् भन्ने प्रष्ट थाहा हुन्छ । तर राष्ट्रपति चुनावमा कसले कसलाई भोट हाल्दैछ भनेर पहिल्यै थाहा हुँदैन ।

यसकारण राष्ट्रपति चुनावमा ‘क्रस भोटिङ’ अर्थात पार्टीको निर्देशन विपरीत अर्कै उम्मेदवारलाई भोट दिनसक्ने सम्भावना हुन्छ । तर भण्डारी पराजित हुनेगरी क्रस भोटिङ हुने सम्भावना देखिँदैन । यस्तो हुनको लागि धेरै सांसदले क्रस भोटिङ गर्नुपर्ने हुन्छ । सबै सत्तारुढ दलले भण्डारीको पक्षमा मतदान गर्न आआफ्ना सांसदलाई निर्देशन दिइसकेका छन् ।

निर्वाचन कार्यक्रम

राष्ट्रपति चयनको लागि व्यवस्थापिका संसदमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचन गोप्य मतदान प्रक्रियाबाट हुनेछ ।

मतदान सकिएपछि दिउँसो साढे २ बजेदेखि मतगणना हुनेछ भने बेलुकी पौने ५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गरिनेछ ।

बेलुकी ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्नुहुने कार्यतालिका छ ।