
बुटवल, ७ बैशाख । स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाबाट मेयरका आकांक्षी बालकृष्ण चापागाईंले पार्टीका केही नेताहरुले षडयन्त्रपूर्वक निषेध गरेको बताएका छन् । ३८ वर्ष लामो समयसम्म नेकपा एमालेमा रहेर गरेको भूमिकालाई अवमुल्यन भएको उनले दावि गरे ।
आज बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका चापागाईंले कार्यकर्तालाई अविभावकत्व प्रदान गर्न नसक्ने नेताको भविष्य नरहेको बताए । ‘माथिल्लो पदमा वसेका नेताले कार्यकर्ताको कार्यमुल्यांकन गर्दै उचित जिम्मेवारी दिनुपथ्र्याे, उनले भने । एमाले उपमहासचिव पौडेलको कडा आलोचना र रचनात्मक सुझाव दिदै चापागाईंले राजा ज्ञानेन्द्रकोभन्दा पनि बढी शक्ति छ भन्ने पुष्टि गर्दा एमालेलाई ठूलो धोका हुन सक्ने चेतावनी दिए । ‘विष्णु पौडेलभन्दा कुन मानेमा म कमजोर छु, उनले भने । पौडेल माथिल्लो पदमा पुगेको व्यक्ति भएकाले आदरणीय नेता भएको भन्दै चापागाईंले पदको दुरुपयोग गर्ने कुचेष्ठा गर्दा ठूलो धोका हुने बताए ।
दुई–दुई पटक सांसद भएको नेताको आफ्नो निर्वाचन क्षेत्रमा जनताले भेट्ने आवास हुनुपर्ने भन्दै उनले पौडेलले घर बनाउन नसके आफैले कार्यकर्ता भेट्ने कटेज बनाइदिने घोषणा समेत गरे । स्थानीय तहको निर्वाचनमा अव मेयर पद दिए पनि नलड्ने भन्दै उनले अवको आफ्नो इच्छा एमालेलाई बलियो बनाउदै प्रदेश नम्बर पाँचको मुख्यमन्त्री हुनेमा केन्द्रीत हुने बताए । ‘३८ वर्ष विभिन्न क्षेत्रमा रहेर अनुभव बटुलें, रुपन्देहीमा त्यसको कदर भएन, अव साच्चिकै राजनीति गर्ने बेला आएको महसुस गरेको छु । आजसम्म एमालेको श्रीवृद्धिमै जीवन अर्पित गरेको छु,– उनले भने ।
रुपन्देहीको अनेरास्ववियुको संस्थापक सचिव र अध्यक्ष हुदै लुम्बिनी अञ्चलमा एमालेको संगठन निर्माणमा निष्ठापूर्वक लागेको कुरा स्मरण गर्दै उनले पार्टीको हित र संगठन निर्माणका क्रममा पाएको दुःख, गरेको संघर्ष, प्रहरी दमन र आक्रमणको रुपन्देहीमा नेतृत्वले मुल्यांकन नगरेकोमा उनले चिन्ता व्यक्त गरे । भाषणको क्रममा भावुक भएका उनले नेताले कार्यकर्ताको सही मुल्यांकन गर्न सक्नुपर्छ । कुन ठाँउमा कस्को भूमिका महत्वपूर्ण छ, कस्को क्षमता कति छ र कुन कार्य कुशलतापूर्वक पूरा गर्न सक्छ त्यसलाई नेतृत्वले बुझ्न सक्नुपर्छ । कार्यकर्तालाई न्याय दिन नसक्ने व्यक्ति दीर्घकालीन राजनेता हुन नसक्ने ठोकुवा गरे ।
पञ्चायत र राजतन्त्रका विरुद्धमा ज्यानको बाजी लगाएर आफू पार्टीका लागि होमिएको भन्दै एउटा नेताको रचनात्मक आलोचना गर्नका लागि आफूलाई कुनै संकोच नभएको बताए । ‘म एमालेको नीति विपरीत लाग्ने कुरा सोच्न समेत सक्दिन, मलाई सबैभन्दा प्यारो पार्टी लाग्छ किनकी पत्रकारिता र पारिवारिक जीवन त पछि शुरु भएका हुन् । त्यसैले मेरो जीवनमा सबैभन्दा ठूलो लगानी एमालेको श्रीवृद्धि गर्नमा लागेको छ । यो कुरा विष्णु पौडेलले बुझ्नु पर्ने कि नपर्ने ?, उनले भने ।
लुम्बिनी अञ्चलका नेताहरु विष्णु पौडेल, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायतका नेतासंग राजनीतिमा गरेको योगदान र पार्टी राजनीतिका बारेमा आफू फेस टु फेस भएर छलफल गर्न तयार रहेको बताए । गुट उपगुटको विषयमा आफूलाई कुनै चासो नभएको भन्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नीतिलाई लिएर देशभर अभियानमा लाग्ने बताए । ‘म अध्यक्ष केपी ओलीको नीति अनुसार काम गर्ने कर्तव्यनिष्ट सिपाही हँु, कहिल्यै विचलित हुनेछैन । र यसअघि कहिल्यै विचलित भएको छैन । कही विचलित भएको भए त्यसको जवाफ विष्णु पौडेल, घनश्याम भुसाल र गोकर्ण विष्टहरुले भन्न सक्नुपर्छ, उनले भने ।
लुम्बिनी अञ्चलका नेताहरुमा यतिवेला विष्णु पौडेल शक्तिशाली भएको चर्चा गर्दै उनले पौडेलबाट शक्तिको दुरुपयोग हुन थालेको गुनासो इमान्दार र निष्ठावान कार्यकर्ताबाट आएको पनि बताए । सत्ता शक्तिले मानिसलाई अन्धो बनाउने खतरा रहिरहन्छ भन्दै लुम्बिनी अञ्चल लगायत प्रदेश नम्बर ५ मा राजनीतिक नेतृत्व गर्ने नेताले गौतमबुद्धबाट पनि शिक्षा लिनुपर्ने उनले बताए ।