
बुटवल, ७ बैशाख । बुटवल जेसीजले ‘पब्लिक स्पीकर बुटवल’कार्यक्रमको समद्घाटन गरेकोछ । सिद्धार्थ गौतम बुद्ध क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमको साही क्याम्पसका प्रमुख बाबुराम पाण्डे र नेपाल जेसीजका पुर्व अध्यक्ष अनुपमान सैंजुले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
स्नातक तह र स्नाकोत्तर तहका युवा विद्यार्थीहरुको बीचबाट एकजना ‘पब्लिक स्पीकर बुटवल’ छनौटको लागि बिहिवारबाट यो अडिसन शुरु गरिएको हो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख पाण्डेले समाजमा रहेका १८ देखि ४० बर्ष सम्मका युवाहरु नै समाजका मेरुदण्ड भएको औल्याउदै बुटवल जेसीजले ‘पब्लिक स्पीकर बुटवल’ कार्यक्रम राखेर युवाहरुको सर्वाँगिण विकासको लागि सह्रानीय कार्य गरेको बताउनुभयो ।
बुटवल जेसीजका पुर्व अध्यक्ष गोपाल अधिकारीले आजको दुनियामा नेतृत्व क्षमता हुन नसके कुनै पनि मानिस अगाडि बढ्न नसक्ने बताउनुभयो । नेपाल जेसीजमा राष्ट्रिय उपाध्यक्ष राजु पौडेलले स्थानीय चुनावको सरगर्मी बढ्दै गर्दा जेसीजले युवाहरुको बीचबाट खारिएको नेता निकाल्ने कार्यक्रम गरेकोले युवाहरुमा यसले सकारात्मक सन्देश प्रवाहगर्ने विश्वास ब्यक्त गर्नुभयो ।
युवाहरुलाइ उनीहरुको नेतृत्व तथा व्यक्तित्वमा निखारता ल्याइ एउटा सक्षम खारिएको नेता उत्पादन गर्न यो बर्ष देखि बुटवल जेसीजले ‘पब्लिक स्पीकर बुटवल’ कार्यक्रम शुरु गरेको बुटवल जेसीजका अध्यक्ष राजेन्द्र घिमिरेले बताउनुभयो । सिद्धार्थ गौतम बुद्ध क्याम्पसबाट शुरु भएको अडिसन बुटवलमा रहेका करिब १५ क्याम्पसमा पुग्ने कार्यक्रम संयोजक रमेश अर्यालले जानकारी दिनुभयो । पहिलो चरणमा बुटवलमा रहेका १५ क्याम्पसबाट प्रति क्याम्पस १० जनाको अडिसनबाट दुइ÷दुइ जनाको छनोट गरी जम्मा ३० जनालाइ दोस्रो चरणको तालिम राउण्डमा लगिनेछ । ‘तालिम राउण्ड’मा बिभिन्न चरणका जेसीजका नेतृत्व तथा व्यक्तित्व सम्बन्धी तालिम, सेमिनार र प्रतिस्पर्धाबाट १० जनालाइ सेमिफाइनल राउण्डको लागि छनोट गरिनेछ । तेस्रो चरणको ‘सेमिफाइनल राउण्ड’मा गएका प्रतिस्पर्धीलाइ पुनः बिभिन्न शिर्षकमा वक्तृत्वकलामा प्रतिस्पर्धा गराइनेछ र सो राउण्डबाट ५ जना प्रतिस्पर्धीलाइ मात्र ‘फाइनल राउण्ड’का लागि छनौट गरिने छ ।
छनौट भएका अन्तिम ५ जना प्रतिस्पर्धीलाइ करिव ५ हजार जनसमुदायको उपस्थितिमा खुल्ला स्थानमा स्थानीय चुनावका लागि विभिन्न पार्टिबाट बुटवल उममहानगरपालिकामा मेयर तथा उपमेयरमा उम्मेदवारी दिने उम्मेदवारसँग ‘मैले चाहेको नेता’ शिर्षकमा बृहत बक्तृत्वकला प्रतिस्पर्धा गराइनेछ । सोही कार्यक्रमवाट ५ जनामध्ये एकजनालाइ ‘पब्लिक स्पीकर बुटवल‘ घोषणा गरिने बुटवल जेसीजका उपाध्यक्ष अर्जुन ज्ञवालीले जानकारी दिनुभयो ।