काँग्रेसको प्रचार कार्यालय उद्घाटन

1.3K

काँग्रेसको प्रचार कार्यालय उद्घाटन

बुटवल, ९ बैशाख । आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरी नेपाली काँग्रेसले बुटवलको वडा नं. १३ वेलबासमा चुनाव प्रचार प्रसार समितिको कार्यालय स्थापना गरेको छ । बेलबासको शान्ति चोकमा स्थापना गरिएको प्रचार कार्यालयको नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले उद्घाटन गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै सभापति रज्जाकले हरेक कालखण्डको परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा संविधान जारी गरेको काँग्रेसकै नेतृत्वमा कार्यान्वयन गर्न चाहेको बताउनु भयो । पहिलो संविधान सभामा ४ जना कम्युनिष्ट पार्टीका प्रधानमन्त्री फेरिएपनि संविधान दिन नसकेको स्मरण गर्दै उहाँले दोस्रो संविधान सभाको चुनावपछि बनेको नेपाली काँग्रेस नेतृत्वको सरकारले संविधान निर्माण गरि जारी गरेको र उक्त संविधानको कार्यान्वयनकालागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

एमालेले झुटको राजनीति गर्ने गरेको र झुटको राजनीति नटिक्ने जिकिर गर्दै एमालेका गढबाट नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर बढेको बताउँदै आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित भएको पनि दावी गर्नुभयो । उक्त कार्यक्रममा नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले २००७ सालको आन्दोलनबाट राणा शासनको अन्त्य, २०४६ सालको परिवर्तन, ससस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्तिको बाटोमा ल्याउँदै २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन र संविधान निर्माण गर्ने र जारी गर्ने काममा नेपाली काँग्रेसले नेतृत्व लिएको स्मरण गर्दै संविधानको कार्यान्वयन पनि नेपाली काँग्रेसको नेतृत्वमा मात्रै सम्भव भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै वडा समितिबाट अध्यक्षमा सिफारिस गरिनुभएका नारायण पुन तथा महिला सदस्य नमकला वेलवासेले आफूहरुले चुनाव जितेको खण्डमा कसैलाई पनि मेरो तेरो नभनीकन बिकास निर्माणको काममा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाउनु भयो । वडा समितिले आसन्न स्थानीय तहको निर्वाचनमा वडा नं. १३ वेलवासमा अध्यक्षमा नारायण पुन, सदस्यमा खुमानन्द पौडेल, झलबहादुर गुरुङ्, महिला सदस्यमा नमकला वेलवासे र दलिद महिला सदस्यमा पावर्ती सुनारलाई रिफारिस गरेको छ ।

वडा सभापति पुरुषोत्तम बस्यालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष तथा महाधिवेशन प्रतिनीधि काजिमान श्रेष्ठ, वडा समितिका सल्लाहकार कृष्णप्रसाद गौतम, क्षेत्रीय प्रतिनीधिहरु पुर्णबहादुर कार्की, भिम आले, ज्ञानहरी वञ्जाडे, मतदान समितिका सचिव खिमानन्द पौडेल लगायतले नेपाली काँग्रेसका उमेद्वारलाई जिताउन तन, मन र धनले सहयोग गर्ने बताएका थिए ।

सोही अवसरमा बिभिन्न पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेको वडा सचिव लालबहादुर गुरुङ्ले बताउनु भयो ।

 त्यसैगरी शनिबार नै बुटवलको वडा नं. ११ को कालिकानगर र प्रगतिनगरमा पनि चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरिएको छ । ती कार्यालयको नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्सालले उद्घाटन गर्नुभएको हो । चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गर्दै सभापति लम्सालले टिकट जसले पाएपनि नेपाली काँग्रेसले पाउने भएकाले पार्टीको उमेद्वारलाई जिताउन सबैलाई लाग्न आग्रह गर्नुभयो ।

उहाँले चुनाव जित्ने व्यक्तिलाई टिकट दिनुपर्ने बताउँदै टिकट वितरणको काम सकेसम्म क्षेत्रमै मिलाउन जानकारी गराउनु भयो । वडा सभापति चित्रबहादुर बर्माको सभापतित्वमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनीधि काजिमान श्रेष्ठ, क्षेत्रीय सदस्य हरिषचन्द्र गौतम, क्षेत्रीय प्रतिनीधि साबित्रा टण्डन, उपसभापति कृष्ण जिसी, सचिव द्वय सुरेन्द्र ज्ञवाली, दुर्गा खत्री, मतदान सभापति आविश्कार खनाल लगायतले भनाई राखेका थिए ।