आज दिउँसो करिब ३ः४५ बजे दोभान र माथिल्लो सिद्धबाबा नजिकै माथिबाट ठूलो पहिरो खसेको र राजमार्ग अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पाल्पातर्फबाट आउने र बुटवलबाट पाल्पा, पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायतको जिल्लामा जाने सवारीका साधन दुवैतर्फ रोकिएका छन् । सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन् ।
पहिरो हटाउनका लागि पाल्पाबाट डोजर ल्याउन समस्या भएको र बुटवलबाट डोजर लैजाने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । पहिरो ठूलो भएकाले केही समय लाग्ने पनि उहाँले बताउनुभयो ।
बुटवलको तल्लो सिद्धबाबा (चिढिया खोलादेखि पाल्पाको दोभानसम्मको करिब चार किलोमिटर सडक अत्यन्तै जोखिमयुक्त रहेको र यस सडक भएर यात्रा गर्ने यात्रुले दैनिक जोखिमपूर्वक यात्रा गर्न बाध्य छन् ।
यहाँको सडकको दूरावस्थाकै कारण वर्षौंदेखि सयौँ यात्रुले ज्यान गुमाइसकेका छन् भने हजारौँ यात्रु घाइते भएका छन् । त्यस्तै ठूलो धनमालको पनि क्षति भइरहेको छ । रासस