चुनाव सरेपछि दलहरु सुस्ताए

1.3K

चुनाव सरेपछि दलहरु सुस्ताए

बुटवल, १४ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनको मिति सरेपछि दलिय कार्यक्रम केही सुस्ताएका छन् । सरकारले यहि बैशाख ३१ गतेलाई स्थानीय तहको निर्वाचन तय गरेको थियो । सोही अनुसार राजनीतिक दलले चुनावी कार्यक्रमलाई तिब्र रुपमा अंगाडी बढाएका थिए । तर मधेशी दलसंगको सहमति पछि चुनावको मिति सरेकाले चुनावी कार्यक्रममा पनि केही सुस्तता आएको पार्टीका नेताहरु बताउँछन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले बुटवलका ९ वटा वडामा सर्वसम्मत उम्मेद्वार चयन गरी पार्टीमा सिफारिस गरिसकेको थियो । त्यस्तै सर्वसम्मत निर्णय हुन नसकेका वडाहरुले पनि सम्भावित उम्मेद्वारहरुको निर्णयार्थ पार्टीमा सिफारिस गरिसकेको थियो । निर्धारित मिति बैशाख ११ मै चुनाव हुने भएको भए उम्मेद्वार निर्णय गरी यतिबेला दलहरु चुनावी प्रचार प्रसारमा हुने थिए ।

नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकाका १९ वटा वडा मध्ये ९ वटा वडामा उम्मेद्वारको सर्वसम्मत निर्णय गरि टिकटकालागि पार्टीमा सिफारिस गरेका छन् । नेपाली काँग्रेसले बुटवलको वडा नं. २ बाट बिरु लामा, ४ बाट चुन्नुप्रसाद पौडेल, ५ बाट हरिप्रसाद श्रेष्ठ, ६ बाट निर्मलप्रसाद आचार्य, ७ बाट पदमबहादुर गाहा, १० बाट खड्गबहादुर महत, १३ बाट नारायणसिंह पुन, १४ बाट लिलासिंह थापा र १५ बाट प्रेमप्रसाद पौडेल सहित वडा सदस्यहरु समेत सर्वसम्मत निर्णय गरि पार्टीलाई सिफारिस गरेको हो ।

सरकारले घोषणा गरेको चुनावको मिति सरेकाले उम्मेद्वारको टुङ्गो लगाउने काम पनि पछाडी धकेलिएको नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले बताउनु भयो । चुनावको मिति सरेपछि पार्टीले दोस्रो चरणको चुनावको कार्यसूचि नबनाईसकेको र कार्यसूची आएपछि सोही अनुसार टुङ्याउने उहाँले बताउनु भयो । यद्यपी नेपाली काँग्रेसले वडा वडामा प्रचार कार्यालय खोल्ने र प्रचार प्रसारका काम भने भईरहने उहाँले बताउनु भयो ।

त्यसैगरी स्थानीय तहको निर्वाचन एक महिना पछाडी सरेपनि नेकपा एमालेले बुटवल उपमहानगरपालिकामा वडा अध्यक्षको करिव टुङ्गो लगाएको छ । १९ वटा वडा रहेको बुटवलमा एमालेले केही वडामा बाहेक प्रायमा उम्मेद्वारको टुङ्गो लगाएको स्रोतले बतायो । एमालले बुटवलको तीन वटा वडामा उम्मेद्वारको टुङ्गो लगाउन सकेको छैन भने बाँकी १६ वटा वडामा उम्मेद्वारको टुङ्गो लगाईसकेको छ । एमालेले बुटवलको वडा नं. १ को अध्यक्षमा महेन्द्र लिगल, २ मा रमेश नेपालको टुङ्गो लगाएको छ भने ३ मा लालप्रसाद बस्याल र चिनबहादुर गुरुङ् मध्ये कसलाई अध्यक्षको उम्मेद्वार बनाउने भन्ने कुरा टुङ्ग्याउन सकेको छैन ।

त्यस्तै वडा नं. ४ मा टंक पराजुली, ५ मा तेजप्रसाद बिक र ६ मा जगदिस आचार्यलाई अध्यक्ष पदको उम्मेद्वारको टिकट दिने निर्णय गरेको छ । आचार्य वडा अध्यक्षमा चुनाव लड्नकालागि बुटवल नगरपालिकाको जागिर छाडेर मैदानमा आउनु भएको छ । वडा नं. ७ मा दिलबहादुर आचार्य र कमलप्रताप थापा मध्ये कसलाई अध्यक्षको टिकट दिने निक्र्योल गर्न नसकेको एमालेले वडा नं. ८ मा भने भिमबहादुर श्रेष्ठलाई निर्णय गरेको छ ।

एमालेले वडा नं. ९ मा भोजबहादुर बुढाथोकी र बिष्णुबहादुर थापा मध्ये कसलाई अध्यक्षको उम्मेद्वार बनाउने भन्ने निर्णय गर्न नसकेपनि वडा नं. १० मा पदम थापा, ११ मा रामचन्द्र खनाल, १२ मा दुर्गा सुवेदी, १३ मा योग गुरुङ्, १४ मा दधिराम न्यौपाने, १५ मा डम्बर भण्डारी, १६ मा रामप्रसाद रेग्मी, १७ मा सन्तबहादुर राना, १८ मा फोमराज ढकाल र १९ मा चन्द्रसिंह थापालाई वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ ।

पार्टीले उम्मेद्वारको टुङ्गो लगाईसकेपछि उमेद्वारहरु प्रचार प्रसारमा लागिसकेका छन् । प्रचार कार्यालय खोल्ने र कार्यकर्तालाई एकाकार बनाउने काममा उम्मेद्वारहरु लागिसकेको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले बताउनु भयो । उहाँले निर्वाचन सरेपछि अव के कसरी अंगाडी बढ्ने भन्ने सन्दर्भमा पार्टीको जिल्ला कमिटिको बैठक बस्ने र पार्टीको निर्णय अनुसार योजनावद्ध रुपमा चुनावमा होमिने बताउनु भयो ।

निर्वाचनको मिति सरेपछि केही सुस्ताएको नेकपा माओवादी केन्द्रले वडा गाउँ तथा नगरका लागि सम्भावित उम्मेद्वार पार्टीमा सिफारिस गरिसको छ । चुनावको पूर्व निर्धारित मिति सरेपछि चुनावको तयारीका काम भईरहेपनि चुनावका कार्यक्रमहरु केही सुस्ताएको पार्टीका केन्द्रीय सदस्य हरि घिमिरेले बताउनु भयो । यहि बैशाखको ३१ गते निर्धारण गरेको स्थानीय तहको निर्वाचन मधेशी दलसंगको सहमति पछि सरकारले प्रदेश नं. १, २, ५ र ७ मा चुनाव सारेर जेठ ३१ गते गते निर्णय गरेको छ ।