चीनबाट इन्धन ल्याउन सम्झौता

388

चीनबाट इन्धन ल्याउन  सम्झौता

nepal-china-

काठमाडौं । भारतको नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको बेला चीनबाट इन्धन ल्याउने व्यवसायिक सम्झौता भएको छ ।

नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो-चाइना) बीच बुधबार इन्धन आपूर्तिबारे व्यवसायिक सम्झौता भएको हो । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।बेइजिङमा भएको सम्झौतामा चीनबाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पद्धार्थ चीनबाट नेपाल ल्याउने उल्लेख छ ।चीनस्थित नेपाली दूताबासले विज्ञप्ति जारी गर्दै सम्झौता भएको जानकारी गराएको छ । तर, चीनबाट कहिलेबाट र कति परिमाणमा तेल ल्याउने भन्ने थप खुलाइएको छैन ।इन्धन आपूूर्तिसम्वन्धी सम्झौतामा हस्ताक्षर गर्नुअघि राजदूत महेश मास्के नेतृत्वको नेपाली टोलीले मंगलबार विदेशमन्त्रीसँग र बुधबार बिहान वाणिज्य मन्त्रीसँग छलफल गरेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसहितको उच्चस्तरीय टोलीले चीनबाट इन्धन आपूर्ति गर्ने नीतिगत सहमति गरेपछि यो प्रक्रिया अघि बढेको थियो ।चिनियाँ पक्षसँग भएको सम्वादका आधारमा नेपाल सरकारले सम्झौता गर्ने अधिकार दिएर राजदूतको नेतृत्वमो टोली बेइजिङ पठाएको थियो ।बेइजिङस्थित नेपाली दूताबासका अनुसार बुधबार नै चीनले पूर्व घोषणा गरेको १ हजार मेटि्रक्टन पेट्रोल नेपाललाई अनुदान दिनेबारे पनि सम्झौता भएको छ ।