जिविकोपार्जन गर्ने माध्यम बन्यो हाटबजार

923

जिविकोपार्जन गर्ने माध्यम बन्यो हाटबजार

मिना पौडेल/
देवदह, १५ बैशाख । पाल्पा गोठादीकी टोपली घर्तीलाई आजभोली मौसमी तथा बेमौसमी तरकाली बेच्न भ्याइनभ्याइ छ । जब उनी गोठादीबाट देवदहको खैरेनी बजार झर्छीन् तब उनले ल्याएको तरकारी किन्न मानिसहरु बाटोमा नै तछाडमछाड गर्छन् । हप्ताको दुई दिनसम्म तरकाली बेच्ने उनको दिनचर्या नै बनेको छ ।

उनको बारीमा फलेका हरिया तरकाली किन्न मानिसहरु उनी आउने बाटो कुरेर बसेका हुन्छन् । “घर्ती भन्छिन् म हप्ताको शुक्रवार, सोमवार देवदहमा तरकारी बेच्न आउने गर्दछु त्यतिबेला थोक तथा फुटकरमा तरकाली लिनको मानिस जम्मा भएका हुन्छन् । मैले ल्याउने तरकाली अर्गानिक भएको हुदा धेरैजसो मानिसहरु तरकाली किन्न बाटोमानै कुरेर बसेका हुन्छन् ।”  टोपली घर्तीलाई मात्र होइन गोठादीको मार्ग हुदै बावियो र कुचो बेच्न आउने विरबहादुर कनौजेलाई पनि उत्तिकै भ्याइनभ्याई छ ।

आफ्नो बाबुबाजेले पनि यहि कामलाई निरन्तरता दिएको हुनाले आफ्नो मन यही काममा गएको कनौजे बताउछन् । उनी बिहानको ४ बजे उठेर कुचो र बावियोको भारी बोकेर उनी बजारतिर झर्ने गर्दछन् । दुई पटक मलेसिया र कतार समेत पुगेर आएका कनौजेले आफ्नो मन विदेशी भूमिले नतानेको बताउछन् । उनी भन्छन् “म विदेश गएर आएपनि भनेजस्तो कमाउन सकिन त्यसैले यही बसेर काम गर्ने सोच बनाए । अनि आफ्नो भिर पाखामा उम्रेको बावियो र कुचो बेचेर दीनचर्या बिताएको छु ।” घरमा ५ जनाको परिवार पालेका कनौजेले आफ्नो बारीमा भएका अदुवा केरा तामा, बावियो, कुचो लगायतका समानहरु बेचेर रामै्र आम्दानी गरेको बताउछन् ।

टोपली र विरबहादुरलाई मात्र होइन गोठादीकै झमिसरा जर्घा पनि आफ्नो बारीमा उब्जेको अदुवा र बेसार बेच्न गोठादीबाट खैरेनी बजार झर्ने गर्दछिन् । खाने बाटो नै त्यहि भएकाले आफुले लगाएको समान बेचेर चामल किन्ने उनी बताउछिन् । उनी भन्छिन् “अदुवा र बेसार लिएर म देवदहको खैरेनी बजार पुग्छु, अनि त्यहाबाट बुटवल, सुनवल र बर्दघाट देखिका मानिसहरु आएर समानको मोलतोल गर्ने गर्दछन् ।” देवदहबाट गोठादीसम्म पुग्ने सबै बाटो राम्रो नहुदा आधा बाटो गाडिमा र आधा बाटो पैदल हिडेर उनीहरुले आफ्नो दैनिकी गुजार्दै आएका छन् ।

झमीसरा दुखेसो पोख्दै भन्छिन् “खानको लागि भएपनि केही न केही जोहो त गर्नै प¥यो बाटो राम्रो भएको भए हामी जस्ता गरिबलाई आफ्नो उब्जनी बेचेर खान सजिलो हुन्थ्यो ।” देवदह हुदै गोठादी मार्गमा जाने बाटो गिद्धभिर पुगेपछि यात्रुहरु हिडेर आफ्नो गन्तव्य जानुपर्ने बाध्यता रहेको छ । बाटोको निमार्ण कार्य छिटो भए आफ्नो कार्य अझै सहज हुने गोठादीकै हात्तिलु¨मनसेवा बस्ने फुलबहादुर खाम्चा बताउछन् । उनी “भन्छन् दुख त छदैछ तैपनि बोटोको मर्मत कार्य छिटो भए हामीलाई सुविधा हुने थियो । ”

देवदहको खैरेनी बजारमा बिभिन्न ठाउ“बाट जिविकोपार्जनका लागि मानिसहरु आउने गर्दछन् । जीवन धान्न छोराछोरीको पढाई खर्च, लत्ताकपडा लगायतका आधारभुत आवश्यकता सबै यहि बजारको व्यापारले धानेको बताउछिन् देवदहकी धनमाया भुषाल, उनी “भन्छिन बिगत २८ वर्षदेखि एउटै काममा लागेकोले यहि पेशा नै राम्रो लाग्छ, अरु काममा मन जादैन । ”

देवदहमा शुक्रबार र सोमबार हप्ताको दुई दिन हाटबजार लाग्ने गर्दछ । जसमध्ये शुक्रबार लाग्ने हाटबजार यसै क्षेत्रकै पुरानो बजारको रुपमा लिइन्छ । देवदहको शुक्रबार हाटबजार २०३५ सालतिर स्थापना भएको बजार व्यवस्थापन समितिका अध्यक्ष केशव पुनले बताए । उनी भन्छन् शुक्रबार बजारमा बुटवल भैरहवा, नवलपरासी लगायतका व्यापारीहरु बजार गर्न आउने गर्दछन् । करिब ३ हजार हाटबजार व्यवसायीले शुक्रवार बजारको स्थान ओगटेको उनी बताउछन् । बजारको व्यवस्थान राम्रै भएपनि अरु व्यापार गर्न खोज्ने मानिसहरुलाई ठा“उ उपलब्ध गराउन गाह्रो भएको पुन बताउछन् ।

त्यसैेगरी देवदहको शित्तलनगरमा लाग्ने सोमवारे हाटबजारले पनि धेरै जना मानिसको हातमुख जोर्ने व्यवस्था गरिदिएको छ । २०५६ सालमा स्थापना भएको सोमवारे हाटबजारमा २ सय १५ व्यापारीले बजार संचालन गरी आफ्नो दैनिकी चलाएको बजार व्यवस्थापन समितिका अध्यक्ष केशव आचार्यले बताए । हाटबजार लाग्ने ठाउमा धेरै रुखहरु भएकाले हुरीबतासको समयमा हागा भाचिएर चोटपटक लाग्ने हुदा यसको व्यवस्थापनमा समस्या भएको अध्यक्ष आचार्यले बताए । साथै उनले बजारमा ग्रावेलको समस्या रहेको र बजारलाई तरकाली बजारको रुपमा मात्र स्थापित नगरी पशु बजारको रुपमा स्थापित गर्न सके सोमवारे बजारको स्तरबृद्धि हुने बताए ।