श्रमदान संगै ऋण बोकेरै सडक निर्माण

981

श्रमदान संगै ऋण बोकेरै सडक निर्माण


प्रविण गाहा /
गुल्मी(जुभूङ्ग), २५ वैशाख । गुल्मीको पल्लिकोट र जुभूङ्ग (साविक गाविस) सडक संजालमा जोडिएका छन् । सडक निर्माण सुरु गरेको एक दशक पछि पल्लिकोट र जुभूङ्ग सडक संजालमा जोडिएको हो । सडकले पल्लिकोट र जुभूङ्ग गाविसका वासिन्दा संगै नजिकका साविकका गाविसवासीहरु समेत लाभान्वित भएका छन् ।

भौगोलिक हिसावले नजिक भएपनि मोटर गुड्ने सडक नहुदा अहिले दुई/चार किलोमिटरमा पुगिने स्थानमा पुग्न २५ किलोमिटरको यात्रा गर्नु पर्ने बाध्यता थियो । सडक निर्माणले जुभूङ्गका वासिन्दाको पल्लिकोट संगै रिडी, पाल्पा, बुटवल जान समय संगै खर्च समेत बचत भएको छ । अव घुर्मीबाट १० किलोमिटरमै विरवास, भेडुवा पुगिने भएको छ । घुर्मीबाट हटिया–झिरवास–गौडाकोट हुदै विरवास पुग्न २० किलोमिटर यात्रा गर्नुपर्ने थियो । यसले घुर्मीका बासिन्दालाई विरवास पुग्न १० किलोमिटर बाटो छोट्टिएको छ ।

साथै रेसुङ्गा जंगल क्षेत्रको धुलो र हिलाम्य सडकबाट यात्रा गर्नु पर्दाको सास्ती समेत अन्त्य भएको छ । विरवास–कोल्धरी–सेल्फुक–सिस्ने–घुर्मी–ठुलाचौर मोटरबाटो समितिका अध्यक्ष शिवलाल घर्तीले अहिले सडक खनिएपनि यसलाई दिगोपन बनाउन धेरै चुनौती रहेको बताउनुभयो । उहांले भन्नुभयो कडा कालो चट्टान कटान गर्नुपर्ने, खोलामा ग्याविङ्ग, ढल व्यवस्थापन गर्नुपर्ने मुख्य चुनौती छ । मोटरबाटो समितिका सचिव भेष बहादुर गाहाले बाह्र वर्षमा खोला फर्किन्छ भनेझै मोटरबाटो निर्माण सुरु गरेको बाह्रै वर्षमा भएपनि पल्लिकोट र जुभूङ्गको बाटो जोडिएकोमा खुसी व्यक्त गर्नुभयो ।

वि.सं. २०६२ सालमा जुभूङ्गको हटियाबाट निर्माण सुरु गरिएको सडक पल्लिकोट संग जोडिएपछि जुभूङ्ग–६ (साविक) टङलाजी, घुर्मीवासीको सपना पुरा भएको हो । स्थानिय अगुवाहरु ओमबहादुर गाहा, स्व.मोहन सिंह गाहा, बल बहादुर घर्ती, थान बहादुर खासु, ज्ञानसिंह बलाल, कुलानन्द गौतम, बुद्धिमान गाहा लगायतको पहलमा ०६२ देखि सडक निर्माण सुरु गरिएको थियो । हटियामा रहेको अवरोध छिचोेल्दै सडक निर्माण थालिएको थियो ।

साविक जुभूङ्ग–६ का (एक सय घरधुरी) बासिन्दाले घरेलु औजार प्रयोग गरी करिव चार किलोमिटर सडक बनाई जिप, ट्याक्टर तथा अन्य मझौला साधन गाउंमा ल्याउन सफल भएका थिए । आफ्नो गाउ‘ंबाटै मोटर चढेर सदरमुकाम तम्घास संगै बाहिरी जिल्ला पुग्ने सपना पुरा गर्न २०६२ मा प्रत्येक घरधुरीले ५२ दिन श्रमदान गरेका थिए ।

श्रमदान गरेर बनाएको सडकमा जिप ल्याएर उद्घाटन गरिएपनि स्तरिय बनाउन आफ्नो आर्थिक अवस्था अनुसार रकम संकलन गरी डोजर समेत लगाएका थिए । स्थानिय संग सापटी लिएर डोजर लगाउदाको करिव आठ लाख ऋण अहिले पनि मोटरबाटो समितिको काधमा छ । मोटरबाटो खन्दा ऋण लागेर वाक्क भएका स्थानियलाई जिल्ला समन्वय समिति (जिल्ला विकास समिति)बाट विरवास–कोल्धरी–सेल्फुक–सिस्ने–घुर्मी–ठुलाचौर मोटरबाटोको लागि विनियोजन भएको ६ लाख रुपैयांबाट राहत भएको छ ।

उक्त रकमबाट पल्लिकोट क्षेत्रमा नयां १.१ किलोमिटर सडक खनिएको छ भने जुभूङ्गमा तीन सय मिटर खनिएको हो । अहिले जिप चल्न मिल्ने मोटरबाटो निर्माण भएको छ । जुभूङ्गको हटिया देखि टङलाजी–घुर्मी हुदै सिस्ने खोला खण्डको लम्बाई ५.३ किलोमिटर रहेको छ । सिस्ने खोला देखि पल्लिकोटको अर्गल–कोल्धरी–विरवास खण्डको लम्बाई ८.७ किलोमिटर रहेको छ ।

डोजर चालकलाई विदाई

विरवास–कोल्धरी–सेल्फुक–सिस्ने–घुर्मी–ठुलाचौर मोटरबाटो निर्माणमा संलग्न चालक यज्ञ प्रसाद वली र सहचालक कमल रास्कोटीलाई जुभूङ्गको घुर्मीमा विदाई गरिएको छ । घुर्मीका आमा समुह, युवा क्लव लगायत स्थानियले उनीहरुलाई अविर फुलमाला लगाइदिएर विदाई गरेका हुन् ।