बुटवल, २६ बैशाख । मदिरा व्यबसायी संघ रुपन्देहीले रुपन्देहीको फर्साटिकरमा रहेको बियर कम्पनी टाईगर्स ब्रुअरीमा बजार प्रतिनीधिको रुपमा कार्यरत कर्मचारी दामोदर केसीको हत्यामा संलग्न जो कोही भएपनि तत्काल पक्राउ गरि कारवाहीका दायरामा ल्याउन माग गरेको छ ।
संघले एक बिज्ञप्ती प्रकाशित गरि हत्यामा संलग्न जो भएपनि अविलम्ब पक्राउ गरि कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।
संघले आज नै ईलाका प्रहरी कार्यालय बुटवलमा डेलीगेसन गई सत्यतथ्य पत्ता लगाई दोषी उपर कडा कारवाहीको माग गरेको छ । मदिरा व्यबसायी महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद नेपाल, रुपन्देहीका जिल्ल्ला अध्यक्ष सुलोचन ढकाल लगायत ईलाका प्रहरी कार्यालय बुटवलमा गएको संघका पदाधिकारी सहितको टोलीले हत्या अपराधको घटनाले जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई चित्रण गरेको भन्दै शान्ति सुरक्षाको वातावरण चुस्त बनाउन समेत माग गरिएको थियो ।
लुम्बिनी बाणिज्य क्याम्पसमा बिबिएस प्रथम बर्षमा अध्ययनरत बिद्यार्थी केसीको हत्यामा संलग्नलाई अविलम्ब पत्ता लगाई कारवाहीको दायरमा ल्याउन क्याम्पस प्रशासनले पनि माग गरेको छ । बिद्यार्थी केसीको हत्याका कारण सिंगो क्याम्पस परिवार स्तब्ध भएको बताउँदै घटनाको तत्काल छानविन गरी दोषी उपर हदै सम्मको कारवाहीको माग गरिएको छ ।
क्याम्पस प्रमुख प्राध्यापक डा. ईश्वर गौतमद्वारा जारी गरिएको विज्ञप्तीमा आईन्दा यस्ता घटना नदोहोरिनकालागि आवश्यक शान्ति सुरक्षाको यथोचित प्रवन्ध मिलाउनकालागि पनि प्रहरी प्रशासन समक्ष अपिल गरिएको छ । गत २४ गते साँझ करिव ६ बजे कार्यालयबाट निस्किएका केसीको सोमबार दिउँसो करिव १ बजेको समयमा सालझण्डी नजिकै जंगलमा विछिप्त अवस्थामा केसीको शव भेटिएको थियो ।