
लुम्बिनी, २७ बैशाख । वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्नुभएको बौद्ध दर्शनको खोज–अनुसन्धानमा लाग्नुभएका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनुभयो ।
“सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो”–उहाँले भन्नुभयो । बौद्ध दर्शनका प्राध्यापक शान्तरत्न बज्राचार्य भगवान् बुद्धले बुद्धत्व ९ज्ञान० प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेको उल्लेख गर्नुहुन्छ । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गर्नुभएको उहाँको भनाइ छ ।
“भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठवटा मार्ग छन् भनी बुद्धले हामी सबैलाई ज्ञान दिनुभएको छ”–उहाँले भन्नुभयो । यसलाई बुद्धले दिनुभएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।
यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति ¥याली निकालिन्छ ।
यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ । प्रभातफेरि र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६१औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले शुभकामना सन्देश दिनुहुँदै “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो भन्नुभएको छ ।” मुलुकको बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान एवम् सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताउँदै उहाँले जनताको लामो सङ्घर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै संविधानको सफल कार्यान्वयनका लागि देश अहिले स्थानीय निर्वाचनमा होमिएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले समाजका विविध क्षेत्रमा उठेका मागको सम्बोधन गरी प्राप्त उपलब्धिको जगमा अहिले देखिएका असन्तुष्टिको सम्बोधन गर्दै विकास र प्रगतिसहितको समुन्नत समाज निर्माण गर्न सबैको सकारात्मक भूमिकाको मैले अपेक्षा गरेको छु भन्नुभयो । नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताउँदै उहाँले सन्देशमा भन्नुभएको छ– “शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानवजगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नुभएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शाश्वत रहेको छ ।”
प्रधानमन्त्रीले “बुद्ध विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचारहरु विश्वभर नै धेरै लोकप्रिय हुन सकेका हुन्” भन्दै गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनुभएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौँ बताउनुभयो । ‘उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ उहाँले भन्नुभयो ।’ प्रधानमन्त्रीले बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्न र सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिल्ने बताउँदै संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन यो दिनले सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभयो ।

२५६१ औं बुद्धजयन्ती, लुम्विनीमा विशेष समारोह
विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्विनीमा आज २५६१ औं बुद्धजयन्ती तथा लुम्विनी दिवस विभिन्न कार्यक्रमका साथ मनाईँदैछ । लुम्विनी विकास कोषले लुम्विनी, कपिलवस्तु र नवलपरासीमा छुटाछुटैंस्थानिय समितीहरु गठन गरी विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको हो ।
आज लुम्विनी दिवस एवं बुद्धजयन्तीको लुम्विनीमा विशेष समारोहका विच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने प्रचारप्रसार समितीका संयोजक एवं लुम्बिनी बिकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिनुभयो । सरकारले बुद्धपुर्णीमाका दिन आज सार्वजनिक विदा समेत दिएकोछ । ठाउँ–ठाउँमा विश्वशान्ति र धर्मदेशनाको कामना गर्दै मंगल धुन बजाएर माहोल शान्तिप्रति समर्पित गरिएको छ । मायादेवी मन्दिर र पुष्करणी पोखरी पनि सरसफाई गरी राम्रो बनाइएको छ । बुद्धपुर्णीमाको पुर्वसन्ध्यामा मंगलवार साझ बुद्धस्थल लुम्विनी, नवलपरासी र कपिलवस्तुमा विशेष पुजा पाठ एवं दीप प्रज्वलन गरिएको छ । लुम्विनी, कपिलवस्तुको तिलौराकोट, कुदान, नलपरासीको रामग्राम, देवदहमा विशेष सरसफाई गरिएको छ । बुद्ध झण्डा फराईएकोछ, बुद्धक्षेत्र सफा पारि चिटिक्क सिगारिएकोछ ।
ठाउँ ठाउँमा तुल, व्यानर र लुङ्गदार टाँगेर सजाइएको छ । लुम्विनीको केन्द्रीय नहरको करिब डेढ किमि दुवैतिर ध्वजापताका टाँगेर सिगारिएको छ । विभिन्न मुलुकका बौद्ध विहार र गुम्बा लुङ्दार र ध्वजापताकाले सजाइएका छन् । लुम्बिनी दिवस एवं बुद्धजयन्ती कार्यक्रमको तयारी पुरा भएको उपाध्यक्ष सिद्धार्थ महर्जन निग्रोधले बताउनु भयो । स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ बन्दै जाँदा लुम्बिनीमा चहलपहल बढेको छ । लुम्विनी दर्शनकालागि आउने आन्तरिक एवं बाह्य पर्यटकहरुको स्वागत गर्दै विभिन्न विहार र मन्दिरमा पूजाआजा एवं सुरक्षा व्यवस्थामा मिलाईएको कोषका सदस्य राजेश ज्ञवालीले जानकारीदिनुभयो ।
बुद्धजयन्तीमा बुद्ध साईटहरुको अन्वेषणमा संलग्न वेलायतका पुरातत्वविद डा. कनिघ हम, एतिहासिक पुरातात्विक क्षेत्रका विभिन्न विद्यालयहरुमा कक्षा ८ र ९मा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुमध्ये एकसयजनालाई सम्मान गर्ने निर्णय गरेको छ । यसैगरी कोषमा २५ वर्षसम्म काम गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदकबाट सम्मान गर्ने कार्यक्रम राखेको छ । विशिष्ट व्यक्तिलाई प्रदान गरिने सम्मान रकमबारे सार्वजनिक गरिएको छैन । अर्कोतर्फ कोषको कार्यकारीणी समितीले विद्यार्थीलाई भने प्रोत्साहन पुरस्कार रुवरुप जनही पाँचहजार नगद र प्रमाणपत्र प्रदान गर्ने निर्णय भएको सदस्य सचिव तामाङले जानकारीदिनुभयो ।
कपिलवस्तु, नवलपरासी र लुम्विनीमा बुद्धजयन्ती भव्य रुपमा सम्पन्न गर्न उक्त क्षेत्रका स्थानियको अग्रसरतामा छुटाछुटैं समिती गठन गरिएका छन् । एतिहासिक पुरातात्विक बुद्ध साईटहरुको सरसफाई ध्वजापताका, बुद्ध जीवनसंग सम्वन्धीत निवन्ध लेखन, हाजिरीजवाफ प्रतियोगिता, चित्रकला, फोटो प्रर्दशनी एवं अन्तरक्रियालगायतका कार्यक्रमहरु आयोजना गरिएका छन् ।