बुटवल, २७ वैशाख । जिल्ला शिक्षा कार्यालय रुपन्देहीले चालु आर्थिक वर्षमा छात्रबृत्तिका लागि मात्रै झण्डै तीन करोड रुपैंया खर्च गरेको छ । कार्यालयले जिल्लाका ६९ हजार २ सय ४७ बिद्यार्थीकालागि दुई करोड ८१ लाख १६ हजार ५ सय रुपैंया खर्च गरेको जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले जानकारी गराउनु भयो ।
कार्यालयले आधारभूत तहका छात्रा छात्रबृत्तिमा ५२ हजार ६ सय ७९ जना बालिकालाई वार्षिक जनही तीन सय रुपैंयाका दरले छात्रबृत्ति प्रदान गरेको छ । त्यस्तै आधारभूत तहकै दलिद १० हजार ३ सय ११ जनालाई जनही ४ सय रुपैंयाँ माध्यमिक तहका दलित छात्रबृत्ति तर्फ ३ हजार २ सय ३५ जनालाई बार्षिक जनही ५ सयका दरले छात्रबृत्ति वितरण गरेको हो । त्यसैगरी जिल्ला शिक्षा कार्यालयले १ हजार १ सय २४ जना जेहेन्दार बिद्यार्थीलाई जनही १ हजार ७ सय रुपैंयाका दरले छात्रबृत्ति प्रदान गरेको छ भने तराई बिद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको रामनारायण मिश्र छात्रबृत्तिबाट उच्च माध्यमिक तहमा अध्ययन गर्ने १ हजार ४ सय ५८ जना बिद्यार्थीलाई जनही २ हजार ३ सय रुपैंयाका दरले छात्रबृत्ति प्रदान गरेको हो ।
कार्यालयले थप ४ सय ४० जना अपाङ्गता भएका बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको जानकारी दिएको छ । जसमध्ये ६१ जना बिशेष प्रकृतिका घरबाट आवतजावत गर्न नसक्ने आवासीय बिद्यार्थीलाई मासिक ४ हजारका दरले १० महिना सम्मको छात्रबृत्ति रकम प्रदान गरिएको उप जिल्ला शिक्षा अधिकारी टिकाराम अर्यालले बताउनु भयो । त्यसैगरी १३७ जनालाई बार्षिक ५ हजार, ६७ जनालाई बार्षिक ३ हजार र १७५ जनालाई बार्षिक १ हजारका दरले छात्रबृत्ति प्रदान गरिएको उहाँले जानकारी गराउनु भयो । जिल्ला शिक्षा कार्यालयले चालु आर्थिक वर्षमा शैक्षिक सुधारका लागि ३० वटा बिद्यालयमा २ कोठे भवन, एउटा बिद्यालयमा ४ कोठे भवन, १६ वटा बिद्यालयमा शौचालय निर्माण, ५८ वटा बिद्यालयमा मर्मत संभार, २८ वटा बिद्यालयमा प्रयोगशाला तथा ७१ वटा बिद्यालयमा पुस्तकालय स्थापना गरिएको अर्का उप शिक्षा अधिकारी टिकाराम शर्माले बताउनु भयो ।
त्यसबाहेक कार्यालयले धार्मिक बिद्यालय सहयोग कार्यक्रम अन्तरगत ४ वटा गुरुकुल र १ सय १८ वटा मदरशालाई जनही १ लाख ८८ हजारका दरले आर्थिक सहयोग गरिएको जिल्ला शिक्षा अधिकारी थापाले जानकारी दिनुभयो । ८ लाख ८० हजार १ सय ९६ जनसंख्या रहेको रुपन्ेदही जिल्लामा ९६ दशमलव १७ प्रतिशत नागरिक साक्षर छन् । गत शैक्षिक सत्रको आधारमा जिल्ला शिक्षा कार्यालय रुपन्देहीले चालु शैक्षिक सत्रमा सामुदायिक तर्फ १ लाख ३१ हजार ५० र संस्थागत तर्फ ७७ हजार ९ सय ८३ जना बिद्यार्थी बिद्यालयमा भर्ना हुने प्रक्षेपण गरिएको उहाँले बताउनु भयो ।
रुपन्देहीमा सामुदायिक तर्फ ३ सय ६४ र संस्थागत तर्फ ३ सय १२ गरी ६ सय ७६ बिद्यालय छन् । त्यसबाहेक जिल्लामा ११८ मदरशा र ४ गुरुकुल बिद्यालय सञ्चालनमा भएको जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा प्राथमिक कक्षाका बिद्यार्थीको सिकाई अभिबृद्धि गर्ने तथा कक्षा दोहो¥याउन छोड्ने बिद्यार्थीलाई लक्षित गरी युएसएआडिको प्राबिधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम सुरु गरिएको छ । आर्थिक वर्ष २०७१/०७२ देखि कार्यक्रम स्वीकृति भएपनि प्राविधिक संस्था चयन हुन नसकेकाले आर्थिक वर्ष २०७२/०७३ देखि सञ्चालन गरिएको रुपन्देहीकी कार्यक्रम संयोजक कल्पना थापाले बताउनु भयो । यो कार्यक्रमबाट कक्षा १ देखि ३ सम्मका बालबालिकालाई पाठ्य सामाग्रि बिकास गर्ने तथा पढाई, लेखाई, बोध र गणितीय शिपमा केन्द्रित भई कार्यक्रम सञ्चालन गर्नेछ ।