बुटवल, २७ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पहुनी स्थित मोक्षधाम सेवा आश्रममा आगामी साउन महिनामा बृहत शिवपुराण महायज्ञ सञ्चालन गरिने भएको छ । साउन महिना शिव महिना पनि भएको र शिव महिमा सहित शिवपुराण महायज्ञ गर्न लागिएको हो ।
आशुतोष भगवान शिवजीको प्रिय महिना साउनभरी शिव महिमा सम्बन्धि सांगितिक आध्यात्मिक प्रवचन, श्रावणी मेला, अखण्ड जलधारा, रुद्राभिषेक एवं शिव भजनकृतन सहित मनाउन लागिएको मोक्षधाम सेवा आश्रमका कोषाध्यक्ष नारायण बञ्जाडेले बताउनु भयो । श्रावणी मेला तथा शिवपुराण महायज्ञको तयारीकालागि आश्रम सेवा समितिले आगामी जेठको ३ गते छलफलकालागि भेला आयोजना गरेको छ । भेलामा आश्रमका संरक्षक, आजिवन तथा साधारण सदस्य, शुभेच्छुक महानुभावहरुका लागि आमन्त्रण गरिएको उहाँले बताउनु भयो ।
२०६८ सालमा स्थापना गरिएको मोक्षधाममा हालसम्म राधाकृष्ण मन्दिर, सन्त आश्रम, सत्संग हल, बृद्धाश्रम, कुरुकुल आश्रम, १०८ शिवलिंग सहितको विश्वनाथ मन्दिर, मुक्तिनाथ मन्दिर निर्माण भईसकेको छ भने अमृत कुण्ड, १००८ शिवलिंग सहितको द्वादश ज्योतिर्लिंग निर्माणाधिन अवस्थामा रहेको र श्रावणी मेला अगावै निर्माण पुरा गरिने आश्रमले जनाएको छ ।
भारतमा रहेका प्रशिद्ध बद्रिनाथ, रामेश्वर, द्वारिकाधिस, जगन्नाथपुरी तथा नेपालमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र जनकपुरधाम गरी आठ धाम बनाउने र रुपन्देहीलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा बिकास गर्ने लक्ष्य सहित मोक्षधाम सेवा आश्रमको बिकास गरिएको थियो । सोही अनुसार आगामी साउनमा गर्न लागिएको श्रावणी मेला सहितको शिवपुराण महायज्ञमा दश लाख धार्मिक पर्यटक आउने आश्रमले अपेक्षा गरेको छ ।