भारतीय ओभरलोड ट्रकलाई नियन्त्रण गर्न माग

563

भारतीय ओभरलोड ट्रकलाई नियन्त्रण गर्न माग

बुटवल, २ जेठ । पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवलले स्थापना गरि वितरण गर्दै आएको यो वर्षको छात्रबृत्ति रकम वितरण गरेको छ ।

समितिको २६ औं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरिएको छात्रबृत्ति वितरण तथा व्यबसायिक भेलामा छात्रबृत्ति वितरण गरिएको हो । २०६३ सालमा समितिका तत्कालिन अध्यक्ष अर्जुन रानाभाट र कोषाध्यक्ष लालबहादुर श्रेष्ठले आफ्नो पारिश्रमिकबाट उक्त कोष स्थापना गर्नु भएको थियो । उक्त गरिव तथा जेहेन्दार छात्रबृत्ति कोषमा पूर्व अध्यक्ष गणेशप्रसाद पन्थले समेत आफूले पाउने पारिश्रमिक जम्मा गर्नु भएको थियो भने समितिले समेत ५ लाख रुपैंया थप गरेको थियो । त्यसरी स्थापित उक्त गरिव तथा जेहेन्दार छात्रबृत्ति कोषबाट यो वर्ष लुम्बिनी अञ्चलका ६ जिल्ला र स्याङ्जा जिल्लाका गरि २५ सामुदायिक बिद्यालयमा अध्ययन गर्ने २५ जना छात्रछात्रालाई छात्रबृत्ति रकम प्रदान गरिएको हो ।

समितिले प्रदान गर्ने उक्त गरिव तथा जेहेन्दार छात्रबृत्ति अक्षय कोषबाट मावि तहमा अध्ययन गर्ने विद्यार्थीलाई जनही ४ हजार तथा निमावि र प्राविमा अध्ययन गर्ने विद्यार्थीलाई जनही तीन हजार रुपैंयाका दरले वितरण गरिएको हो । छात्रबृत्ति रकम वितरण गर्दै नेपाल ट्रक व्यबसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले सरकारले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन गराउन र व्यबसायिक समस्या समाधानका लागि महासंघ लागिपरेको बताउनु भयो ।

उहाँले पछिल्लो समयमा ऐन नियम, कानुन बनाउने स्थानमा व्यबसायीको प्रतिनीधित्व रहने व्यबस्था भएको बताउँदै गत साल सवारी ऐन २०४९ तथा बिमा नीति २०६३ संशोधन परिमार्जन गरि २०७३ लागु भएको उल्लेख गर्नु भयो । संशोधित परिमार्जित व्यबस्थाले व्यबसायीलाई ठूलो राहत मिलेको उल्लेख गर्दै अध्यक्ष रानाभाटले व्यबसायीलाई प्रतिकुल हुने ऐन नियम संशोधन परिमार्जनकालागि अनुसन्धान र छलफल भईरहेको बताउनु भयो ।

कार्यक्रममा व्यबसायीहरुले भारतीय गाडीका कारण नेपाली व्यबसायीहरु धराशायी हुने स्थिती आएको बताउँदै भारतीय ओभरलोड गाडीहरुलाई सरकारी तवरबाटै नियन्त्रण गर्नुपर्ने बताएका थिए । उनीहरुले भारतीय गाडीहरु निर्वाध रुपमा ओभरलोड बोकेर नेपाल आउँदा सडक जिर्ण बनेको तथा व्यबसायीलाई पनि प्रतिकुल प्रभाव पारिरहेकाले भारतीय ट्रकलाई नेपाल प्रवेशमै रोक लगाउन माग गरेका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष टिकाराम गौतम, महासंघका केन्द्रीय सदस्य तथा समितिका निवर्तमान अध्यक्ष लोकराज पोखरेल, संमितिका संस्थापक अध्यक्ष रामेश्वर श्रेष्ठ, पूर्व अध्यक्ष गुप्तबहादुर केसी, लुम्बिनी ट्रक व्यबसायी संघका महासचिव रुमाखर गौतम, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष उज्जल कसजु, तिलोत्तमा उच्च माध्यमिक बिद्यालय दोभान पाल्पाका प्रधानाध्यापक कुलचन्द्र पुरी, समितिका महासचिव हरिप्रसाद कंडेल, समितिका कार्यालय प्रमुख बाबुराम अधिकारी लगायतले धारणा राखेका थिए ।

सोही अवसरमा समितिले समितिका पूर्व अध्यक्ष तथा संस्थापक पदाधिकारी सदस्यहरुलाई संघको संस्थापक बिकासमा योगदान पु¥याएको भन्दै कदर पत्र सहित सम्मान गरेको थियो । २०३६ सालमा स्थापना भएको व्यबसायिक समिति २०४७ सालमा औपचारिक रुपमा दर्ता भएको थियो । संघको वार्षिकोत्सवकै अवसरमा बिहान कार्यालयमा रक्तदान कार्यक्रम गरेको थियो ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमाा गरिएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा समितिका सचिव प्रकाश जिसीले जानकारी दिनुभयो ।