संविधानको यात्रामा संयम र धैर्यको खाँचो -निवर्तमान राष्ट्रपति यादव

420

संविधानको यात्रामा संयम र धैर्यको खाँचो -निवर्तमान राष्ट्रपति  यादव

Gift from President office

काठमाडौं/करिब सात वर्ष तीन महिना लामो शितलनिवास बसाईपछि निवर्तमान राष्ट्रपति रामवरण यादवले बिहिबार साँझ शितल निवास छोडेका छन्।साँझ पाँच बजे हुने भनिएको उनको विदाई कार्यक्रम करिब आधा घण्टा ढिला सुरु भएको थियो।  ५.२५ बजे उनी प्रभास हलमा प्रवेश गर्दा विदाईको धुन बजेको थियो। लगत्तै राष्ट्रिय गीत।यादवको छेउमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, उपराष्ट्रपति परमानन्द झा र प्रधानन्यायधीश कल्याण श्रेष्ठ मञ्चमा बसेका थिए। हलमा पूर्व प्रधानमन्त्रीहरु, नेपाल सरकारका मन्त्रीहरु,  संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगगका प्रमुख लगायतका अतिथिले भरिएको थियो।विदाई सम्बोधन गर्दै यादवले नेपाली जनताका कैयौं चाहना साकार भएकोमा आज आफूलाई धेरै खुसी लागेको बताए। ‘एक दशक लामो संक्रमणबाट देश अब संवैधानिक र स्वभाविक मार्गमा गएको छ‘ उनले भने ‘मेरो बिदाइसँगै देशको अन्तरिम शासन व्यवस्थाको एउटा चरण पुरा भएको छ।‘यादवले संविधान पूर्ण दस्तावेज नहुने उल्लेख गर्दै निरन्तरको अभ्यास, मन्थन र समय सापेक्ष संशोधनबाट नै संविधानले पूर्णता पाउने बताए। ‘संविधानको यात्रा छटपटी पैदा गराउने गरी सुस्त हुने भएकोले यसमा पर्याप्त संयम र धैर्यको खाँचो पर्नेछ‘ यादवले भने ‘अभ्यास गर्दै जाँदा लोकतान्त्रिक पद्धतिजस्तो संघीयताको अवधारणा र प्रयोग पनि परिष्कृत, सहज र फलदायी हुँदै जानेछ।‘यादवले नयाँ संविधानको कार्यन्वयन चुनौति रहित नभएको उल्लेख गर्दै प्रमुख राजनीतिक दलहरुले १२ बुँदे सहमतिदेखि संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुँदासम्म कायम गरेको एकता र सहकार्य आगामी दिनहरुमा पनि कायम रहोस् भन्ने कामना गरे।उनले तराई/मधेसमा भईरहेको आन्दोलनलाई सम्बोधन गर्न, भूकम्प प्रभावित जनताको जीवन सामान्य बनाउन राजनीतिक दल, व्यवस्थापिका संसद र सरकारको अबिलम्ब ध्यान जाने आशा व्यक्त  गरे। ‘मुलुकका जुनसुकै भूभागका जुनसुकै समुदायले उठाएका आवाज र गुनासाहरुलाई संयम र सहानुभतिपूर्वक सुन्ने र शान्तिपूर्ण  उपायबाट समस्याको समाधान खोज्ने  संस्कार र संस्कृति सुरु गर्नका लागि विशेष आग्रह गर्दछु‘ उनले भने।आफ्नो ७ वर्षे कार्यकालको चुनौति र उपलब्धीको मूल्यांकन गर्ने जिम्मा विज्ञको काँधमा छोड्दै उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यावाद दिए।अन्त्यमा उनले भने –सात वर्षअघि ‘हिमाल, पहाड, तराई–मधेश मध्ये जहाँ बसे पनि, जे जस्तो भेषभुषा धारण गरेपनि, जुन भाषा बोले पनि, जुन धर्म संस्कृति मानेपनि  नेपालको सीमाभित्र बस्ने हामी सबै नेपाली हौं‘ भन्दै म यो भवन प्रवेश गरेको थिएँ। आज यहाँबाट विदा हुँदै गर्दा म त्यही कथन पुनः दोहोर्‍याउँछु– हिमाल, पहाड, तराई–मधेसी जहाँ बसे पनि हामी सबै नेपाली हौं। यही भावना बोकेर हामी अघि बढौं। त्यसैमा हामी र हाम्रा सन्नतिको भविष्य सुरक्षित छ।