नवलपरासी, कार्तिक ,पूर्वगृहमन्त्री देबेन्द्रराज कँडेललाई गोली हान्ने प्रयास विफल भएको छ । दिउँसो साढे एक बजे उनको गृहनगर नजिकै दुई भारतीय सूटरले उनलाई घरमा बनेको पेस्तोलले गोली हान्ने प्रयास गरेका थिए । नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार बडहरा दुबौलिया गाविसमा कार्यकर्तासँग बसिरहेको अबस्थामा भारतीय मोटरसाइकलमा आएका दुईजनाले एक्कासी पेस्तोल निकाल्दै गर्दा कँडेलका अंगरक्षकले उनीहरुलाई समातेका थिए । समातेपछि प्रहरी समक्ष बुझाइएको थियो । कँडेल नेपाली कांग्रेस नवलपरासीका सभापति हुन् । पेस्तोलसहित दुई भारतीय नागरिक उज्वल गर्तौला र जोगेन्द्र पासवान पक्राउ परेका छन् । कँडेल भने सुरक्षित छन् । भारतीय सूटरहरुले कसको योजनामा उनलाई हान्ने प्रयास गरेका हुन भन्ने खुलेको छैन । उनीहरु चढेर आएको भारतीय यूपी ५३ ए ९८५६ नम्बरको मोटरसाइकल स्थानियले आगो लगाइदिएका छन् । कँडेलको घर भारतीय सिमानासँग जोडिएको महेशपुर बजारमा पर्दछ । दशगजाबाट एक किलोमिटर दुरीमा उनको निवास छ । उनलाई गोली हान्न आउने भारतीयहरु कँडेलको निवासवाट दुई किलोमिटर दक्षिण भारतको ठुटिबारीका हुन् । कडेलसँग नेपाल प्रहरीका सईको कमाण्डमा निजी सुरक्षाकर्मी पनि सधै रहन्छन् । माओवादी द्वन्द्वकालमा राजधानीमै आक्रमण हुँदा उनलाई ७ गोली लागेको थियो । मधेस आन्दोलन चर्केको बेला चार वर्षअघि उनको निवासमा आक्रमण हुँदा उनी मुस्किलले बाँचेका थिए । अहिले जिल्लाभरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।