प्रधानमन्त्रीकालागि देउवाको पक्षमा बहुमत, रणनीति बनाउँदै एमाले

263

प्रधानमन्त्रीकालागि देउवाको पक्षमा बहुमत, रणनीति बनाउँदै एमाले

बुटवल । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । शनिबार बिहान साढे ११ बजे संसद् भवन पुगेर सभापति देउवाले उम्मेदवारी दर्ता गराउनु भएको हो । देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गर्नुभएको छ । भने समर्थकहरुमा नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह हुनुहुन्छ ।
प्रधानमन्त्री निर्वाचन कार्यक्रमअन्गर्गत बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ । संसद सचिवालयका अनुसार प्रधानमन्त्री चयनका लागि आईतबार निर्वाचन हुने छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयनका लागि दिएको समय बुधबार सकिएको थियो । सहमतिको समय सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई पत्र पठाई बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित गर्न आह्वान गर्नुभएको थियो ।
सामान्य बहुमतका आधारमा प्रधानमन्त्री चयन हुनाले प्रधानमन्त्री बन्न देउवालाई २९७ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्रीको उम्मेदवार देउवा सभापति रहेको कांग्रेससँग २०६ सांसद छ । नेकपा माओवादी केन्द्रसँग ८१ सांसद छ भने फोरम लोकतान्त्रिकसँग १६ सांसद छ । तीन सांसद भएको नेकपा संयुक्तसँगै एक÷एक सांसद भएको अखण्ड नेपाल पार्टी र समाजवादी जनता दलले पनि समर्थन गरेका छन् । यो जोड्दा ३०८ हुन्छ । अन्य साना दलहरुको समर्थन पनि रहेको र देउवाको पक्षमा ३११ पुगिसकेको कांग्रेस नेता विमलेन्द्र निधिले बताउनु भयो ।
यता भरतपुरको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि त्यसको बिरोधमा संसद अवरुद्ध गर्दै आएको प्रमुख विपक्षी दल एमालेले प्रधानमन्त्री निर्वाचनको रणनीति बनाउन स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटी बैठक अहिले जारी छ । एमालेको संसद अबरोधका बीच प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु भएपछि रणनीति बनाउन बैठक बोलाएको हो । निर्वाचनका दिन संसद अबरोध गर्ने कि आफ्नो उम्मेदवार उठाउने भन्नेमा एमाले निष्कर्षमा पुगेको छैन ।