निर्वाचनमा तीन प्रकारको सुरक्षा रणनीति

1.3K

निर्वाचनमा तीन प्रकारको सुरक्षा रणनीति

कबिन्द्र नेपाल/
बुटवल । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर जिल्ला निर्वाचन समिति रुपन्देहीले तीन प्रकारको सुरक्षा रणनीति तयार गरेको छ । सुरक्षा संवेदनशिलताको आधारमा प्रहरीले सामान्य, संवेदनशिल र अतिसंवेदनशिल क्षेत्रमा विभाजन गरि सुरक्षा रणनीति बनाएको हो । निर्वाचनका समयमा प्रहरीले सोही अनुसार सुरक्षा जनशक्ति परिचालन गर्ने छ । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रहरीले १६ तहमा निर्वाचन कार्यालय सञ्चालनमा आएसंगै ती कार्यालयहरुमा २४ सै घण्टा सुरक्षा प्रवन्ध मिलाईएको र असार २ गते उमेद्वारी दर्ता गर्ने दिनदेखि प्रत्येक मतदान केन्द्रमा सुरक्षाको प्रवन्ध मिलाईनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेलबहादुर पाण्डेले बताउनु भयो ।
सुरक्षाका हिसावले अति संवेदनशिल क्षेत्रमा प्रहरीले नागरिकले सुरक्षाको महशुस गर्ने गरी प्रहरी परिचालन गर्ने र त्यस्था स्थानलाई पहिलेदेखि नै बढी निगरानी गर्ने प्रहरी कार्यालयले तयारी गरेको छ । त्यस्तै संवेदनशिल क्षेत्रमा सोही अनुसार प्रहरी परिचालन गरिने छ भने सामान्य क्षेत्रमा आवश्यकता अनुसार प्रहरी परिचालन गर्ने प्रहरीको तयारी छ । सुरक्षा सतर्कता अपनाउन र भरपर्दो सुरक्षा व्यबस्था मिलाउन जिल्ला प्रहरी कार्यालयले मातहतका युनिटहरुलाई निर्देशन गरिसकेको छ । प्रवक्ता पाण्डेले निर्वाचनका समयमा प्रहरीले सुरक्षामा कुनै कमी हुन नदिनेगरी तयारी गरेको बताउनु भयो ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर रुपन्देहीमा २ हजार म्यादी प्रहरी भर्ना गरिएको छ । त्यस्तै १ हजार २ सयको हाराहारीमा प्रहरीको आफ्नै जनशक्ति छ । त्यस बाहेक निर्वाचनमा सोही हाराहारीमा माग गरिएकोले सुरक्षा प्रवन्धमा कुनै समस्या नहुने उहाँले जानकारी गराउनु भयो । त्यसबाहेक ससस्त्र प्रहरीले जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा रणनीति अनुसार स्ट्रयाकिङ् र मोवाई गस्ति सञ्चालन गर्न सुरु गरिसकेको छ ।
जिल्ला सुरक्षा समितिले जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिका र गाउँ पालिकामा छुट्टा छुट्टै सुरक्षा रणनीति बनाए अनुसार ससस्त्र प्रहरीले अति संवेदनशिल क्षेत्रमा बढी मात्रामा स्ट्रयाकिङ् र मोवाई गस्ति गर्नेछ भने सामान्यमा आवश्यकता अनुसार गर्ने प्रहरी नायव उपरिक्षक गोविन्द खातीले जानकारी दिनुभयो । कहि घटना घट्यो भने तुरुन्त रेस्पोन्स गरेर सुरक्षा व्यबस्था मिलाउनेलाई स्ट्रयाकिङ् भनिन्छ ।
रुपन्देही जिल्लामा एक उपमहानगरपालिका, ५ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १६ वटा स्थानीय तह छन् । जसमा ५४३ वटा मतदान केन्द्र निर्धारण गरी चुनावको तयारी गरिएको छ । स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा ४ हजार ३ सय ४३ जना कर्मचारी खटाईने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख होमनाथ गौतमले जानकारी गराउनु भयो । उहाँका अनुसार एउटा निर्वाचन केन्द्रमा ८ जना कर्मचारी खटाईने छ । त्यसकालागि कार्यालयले निर्वाचनमा खटाईने निजामती र संस्थानका कर्मचारी तथा बिद्यालयका शिक्षकहरुलाई तालिम दि सुरु गरिएको उहाँले बताउनु भयो ।