
बुटवल । आसन्न स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका उपमहानगरपालिका तथा नगरपालिकाहरुमा नेपाली काँग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले सोमबार बुटवल उपमहानगरपालिका सहित ६ नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।
नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकामा नगर समितिका सभापति खेलराज पाण्डेलाई मेयरको उम्मेदवार बनाएको हो । उहाँ बिद्यार्थी कालदेखि नै नेपाली काँग्रेसको सक्रिय राजनीति गर्दै आउनु भएको थियो । त्यस्तै तिलोत्तमा नगरपालिकामा जिल्ला सचिव रामकृष्ण खाँणलाई मेयर बनाएको छ । उहाँ नेपाली काँग्रेसको यस भन्दा अंघिल्लो कार्यसमितिमा पनि सचिवमा नै बसेर काम गर्नुभएको थियो । नेपाली काँग्रेसले देवदह नगरपालिकामा क्षेत्र नं. १ का सभापति हिराबहादुर खत्रीलाई मेयरको उम्मेदवार बनाएको छ । युवा उद्यमी खत्री यस भन्दा अंगाडी पार्टीको जिल्ला सचिव हुनुहुन्थ्यो । त्यस्तै गरी सैनामैना नगरपालिकामा जिल्ला सदस्य फणेन्द्र शर्मालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्व जिल्ला उपसभापति समेत हुनुहुन्थ्यो ।
नेपाली काँग्रेसले सिद्धार्थनगर नगरपालिकामा क्षेत्रीय सभापति मात्रिकाप्रसाद यादवलाई उम्मेदवार बनाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने नेपाली काँग्रेसले यस अंगाडी नै मोहम्मद सईद खाँलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो । खाँ लुम्बिनी सांस्कृतिक नगरपालिकाका पार्टीका नगर सभापति समेत हुनुहुन्छ ।