काँग्रेस उम्मेदवार पाण्डेलाई बुटवलमा स्वागत

बुटवल, २३ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगर पालिकाको मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट टिकट पाएका खेलराज पाण्डेलाई बुटवलमा भव्य स्वागत गरेका छन् । बुटवल उपमहानगर पालिकाको मेयर पदमा टिकट पाएसंगै पार्टीबाट पत्र लिएर मंगलबार बुटवल आउने क्रममा पार्टी कार्यकर्ता तथा सुभेच्छुकहरुले भैरहवाको बिमानस्थलमा पुगेर भव्य स्वागत गरेका हुन् । त्यस लगत्तै नेपाली काँग्रेसका बुटवल नगर सभापति समेत रहेका पाण्डेले बुटवलको बिपी चोकमा रहेको बिपिको सालिकमा माल्यार्पण गर्नु भएको थियो । माल्यार्पण संगै पार्टी कार्यकर्ता तथा सुभेच्छुक सहित बुटवल नगर परिक्रमा गरि ट्राफिकचोकमा संक्षिप्त कोणसभा समेत गरिएको थियो ।
कोण सभामा बोल्दै उहाँले नेपाली काँग्रेसले बुटवललाई आधुनिक सहरको परिकल्पना गरेको र उक्त परिकल्पना साकार पार्न तथा बुटवललाई सम्बृद्ध बनाउनकालागि नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न नगरवासीलाई आग्रह गर्नुभयो । उहाँले आफूले जितेको खण्डमा सधैभरी चुनावी एजेण्डा बन्ने तर जितेपछि बिर्सिने बुटवलमा रहेको सुकुम्बासी समस्या निर्मुल पार्ने, बुटवल उपमहानगरपालिकामा नयाँ थपिएका क्षेत्रमा नक्सापासको व्यबस्था मिलाउने, बुटवल नगरपालिकालाई जनताको नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । बुटवललाई शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, खेलकुदलाई हवको रुपमा बिकास गर्ने प्रतिवद्धता व्यक्त गर्दै यी सबैकुरा समेटेर स्थानीय घोषणा पत्र जनताको हातहातमा पु¥याउने बताउनु भयो ।
त्यस्तैगरी बुटवललाई पर्यटनको गन्तव्यको रुपमा बिकास गर्न नेपाल अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको किल्ला जीतगढी किल्लाको संरक्षण, संवद्र्धन र प्रवन्धन गरी त्यसको समुचित बिकास गर्ने र प्रचार प्रसारको प्रवन्ध मिलाउने, पाल्पाली राजा मणिमुकुन्द सेनको सितकालिन दरवार भएको स्थानमा निर्माण गरिएको मणिमुकुन्द सेन उद्यान (फूलवारी), हिलपार्क लगायतका पर्यटकीय क्षेत्रको बिकासका लागि नगरपालिका मातहत ल्याउने र व्यबस्थित गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बुटवलको मेयरपदमा आकांक्षा राख्ने पार्टीका साथीहरुले पनि आफूलाई सहयोग गर्ने प्रतिवद्धता गरेको जानकारी गराउँदै उमेद्वार पाण्डेले उहाँहरुको सल्लाह, सुझाव लिएर साथसाथै अंगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि रामबहादुर कार्कीले पार्टी र सामाजिक बिकासमा योगदान गरेका व्यक्तिलाई पार्टीले टिकट दिएर बुटवलका जनता तथा पार्टी कार्यकर्ताको भावनालाई सम्मान गरेको बताउँदै उहाँको जित नै बुटवल बासीको जित भएको दावी गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति बिमलराज भट्टराई, सचिव ज्योती भण्डारीले बुटवलको मेयर पदमा स्वच्छ छवी, ईमान्दार र कर्मठ व्यक्तिलाई पार्टीले अंगाडी सारेकाले उहाँको जितका लागि सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।