‘नाजायज कर खारेज गर्छु’

432

‘नाजायज कर खारेज गर्छु’

बुटवल /  चुनाव प्रचारकालागि घरदैलो गर्दै गरेका बुटवल उपमहानगरपालिका वडा नं. ३ का अध्यक्षका उम्मेदवार आनन्दभगत श्रेष्ठले हाल बुटवल नगरपालिकाको कार्यालयले उठाउँदै आएका नाजायज करहरुलाई खारेज गरिदिने मतदातालाई आश्वासन दिनुभएको छ ।

उहाँले आफूले चुनाव जितेको खण्डमा पारदर्शी रुपमा जनमुखि सेवा प्रदान गर्ने बताउनु भयो । हाल नगरपालिकाले प्रत्येक चुलोबाट फोहोर मैला व्यबस्थापनका नाममा ठूलो रकम लिईरहेको बताउँदै उहाँले त्यसलाई पूर्णरुपमा खारेज गरिदिने वडाबासीसंग प्रतिवद्धता गर्नुभएको हो ।

उहाँले वडाबासीका समस्या के कस्ता छन् ? त्यसलाई के कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा समेत रायसुझाव लिनुभएको छ । आफूले चुनाव जितेको खण्डमा जनताबाट आएका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

नेपाली काँग्रेसले बुटवल वडा नं. ३ मा २७ बुँदे प्रतिवद्धता पत्र वडाबासीको घरघरमा पु¥याएको छ । जस अनुसार ज्योतीनगरको जनज्योती प्राविलाई कक्षा थप गर्दै माध्यमिक बनाउने तथा निशुल्क प्राबिधिक शिक्षाकालागि पहल गर्ने, वडा कार्यालयमा रहेको सहरी स्वास्थ्य केन्द्रलाई आफ्नै भवन निर्माण गरी डाक्टर सहितको सुविधा सम्पन्न अस्पतालको रुपमा अंगाडी बढाउने र निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, गोलपार्कदेखि भगवती मन्दिर जानेबाटोमा दोहोरो रेलिङ् सहितको फूटपाथ राखि ग्रिनवेल्ट अवधारणा अनुसार अंगाडी बढाउने उहाँका प्रतिवद्धता छन् ।

त्यस्तैगरी बुटवलमै समस्याको रुपमा रहेको माईक्रो बसपार्कलाई व्यबस्थित गरि सार्वजनिक सौचालय सहितको व्यबस्थित माईक्रो बसपार्क निर्माण गर्ने, वडा भित्रका सार्वजनिक सडकहरुमा निशुल्क सोलार वत्तिको व्यबस्था गरिदिने पनि उहाँका प्रतिवद्धता छन् । बुटवलको सबैभन्दा ठूलो समस्या फोहोर पानीको छ । बुटवल बासीले फोहोर पानी पिउन बाध्य छन् । त्यसलाई ध्यानमा राखेर आफूले सुद्ध खानेपानीको व्यबस्थापनलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

आफ्नै वडामा आधुनिक सुविधा सम्पन्न बधशालाको निर्माण गर्ने, बाढी पहिरोबाट पिडित ज्योतीनगर लगायतका स्थानलाई भय मुक्त हुने वातावरण बनाउने, बमघाटदेखि लक्ष्मिनगर जोड्ने रिङ्रोडकोलागि बजेटको व्यबस्थापन गर्ने लगायतका प्रतिवद्धता गर्नुभएको छ ।

१९ वटा वडा रहेको बुटवल उपमहानगरपालिका वडा नं. ३ (साविकको वडा नं. ५) मा नेपाली काँग्रेसले स्थानीय नेता आनन्द भगत श्रेष्ठ संगै महिला सदस्यमा सोभा थापा क्षेत्री, दलित महिला सदस्यमा बिमला सुवर्णकार तथा खुल्ला सदस्यमा लक्ष्मण पोख्रेल र लोकबहादुर कुवँर क्षेत्रीलाई अंगाडी सारेको छ ।
चुनाव प्रचार प्रसारका क्रममा अध्यक्ष श्रेष्ठले आफ्नो वडामा धेरै समस्या भएपनि गर्नै नसकिने कुरालाई चुनावी नारामात्रै नबनाएको बताउनु भयो ।