‘बुटवलको बिकासको नेतृत्व काँग्रेसले नै गरेको छ र अव पनि गर्नेछ’

1.3K

‘बुटवलको बिकासको नेतृत्व काँग्रेसले नै गरेको छ र अव पनि गर्नेछ’


बुटवल, ३० जेठ ।  बुटवल उपमहानगरपालिकामा रहेको अव्यबस्थित बसोबासलाई व्यबस्थित गर्ने नेपाली काँग्रेसले अवधारणा बनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा जीत हासिल गरेपछि नेपाली काँग्रेसले बुटवलमा रहेका सुकुम्बासी समस्या अन्त्य गर्ने र सधैका चुनावमा चुनावी नारा बन्ने सुकुम्बासी समस्या सधैका लागि अन्त्य गर्ने नेपाली काँग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले बताउँदै आउनु भएको छ ।

मंगलबार पत्रकारहरुसंग भएको छलफलका क्रममा पनि उहाँले आफूले सुकुम्बासी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । नगर क्षेत्र भित्र रहेका सुकुम्बासीलाई लालपुर्जाको व्यबस्था मिलाउने र नगरपालिकाबाट नामसारी सहजै हुने पद्धतीको बिकास गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यसैगरी वर्षा याममा अभिसाफको रुपमा देखा पर्ने तिनाउ नदिलाई कसरी बरदानका रुपमा सदुपयोग गर्न सकिन्छ, त्यसलाई आफूले योजनाको रुपमा अंगाडी ल्याएको र त्यस क्षेत्रका जनतालाई तिनाउबाट क्षेती व्यहोर्नुपर्ने परिस्थितीको अन्त्य गर्ने उहाँको प्रतिवद्धता छ ।

बुटवलको बिकासमा नेपाली काँग्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले प्रश्न गर्नुभयो–‘नेपाली काँग्रेस बाहेक यहाँ कसले के कती बिकासमा योगदान गरेको छ, मलाई बताई दिनुहोस् ?’ बुटवलमा भएका जतिपनि बिकासका कामछन् सबै नेपाली काँग्रेसकै नेतृत्वमा भएको उल्लेख गर्दै अरु पार्टीले आफूले गर्दै नगरेका काम समेत आफैले गरेको भनेर जनतामाझ अफ्वाह फैलाईरहेको आरोप लगाउनु भयो ।

मैनावगरमा रहेको अटो भिलेज, मणिमुकुन्द सेन उद्यान, आम्दा अस्पताल, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल बहुमुखि क्याम्पसको बिज्ञान भवन, लुम्बिनी अञ्चल अस्पतालको प्रसुती कक्ष निर्माण, बुटवल लायन्स आँखा अस्पताल निर्माणलगायतका काम नेपाली काँग्रेसका नेता स्व. सुर्यप्रसाद प्रधान मेयर हुँदा सुरुवात गर्नुभएको थियो । त्यस्तैगरी स्व. प्रधान मेयर हुँदा नै पत्रकारिताको प्रोत्साहनकालागि उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको थियो । उक्त पुरस्कार अहिले पनि नेपाल पत्रकार महासंघले वितरण व्यबस्थापन गर्दै आईरहेको छ । रुपन्देही जिल्लामा दर्जनौं पुल निर्माणमा उहाँकै योगदान छ ।

त्यस्तैगरी पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सिचाई मन्त्री हुँदा वर्षा याममा अभिसाफका रुपमा देखापर्ने नदिहरुलाई व्यबस्थापन गर्नकालागि जनताको तटबन्धको कार्यालय बुटवलमा स्थापना गरि तिनाउ तथा दानव लगायतका नदि व्यबस्थापनको काम सुरु गर्नुभएको छ ।

उहाँले नै कालीगण्डकी–तिनाउ ड्राईभर्सनकालागि पहल कदमी गर्नुभएको थियो । सोही अनुसार उक्त ड्राईभर्सनकालागि डिपिआर तयार गर्न सरकारले बजेट विनियोजन गरेको छ । पूर्व मन्त्री खाँणले नै सिचाईलाई व्यस्थित गर्नकालागि १६÷३६ कुलाको मुहान सहित नहरको संरक्षण तथा सिचाई प्रणालीलाई व्यबस्थित गर्ने काम गर्नुभएको थियो । उहाँकै नेतृत्वमा जिल्लामा दर्जनौ पक्की पुल निर्माण भएका छन् भने दर्जनौं निर्माणाधिन अवस्थामा छन् ।

नेपाली काँग्रेसका संस्थापक नेता पूर्व प्रधानमन्त्री स्वगीय गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा ज्योतीनगर र लक्ष्मिनगरको पहिरो नियन्तरण तथा पहिरोबाट विस्थापितलाई बुटवलको तामनगरमा जग्गा व्यबस्थापन गरि स्थानान्तरण गरिएको थियो । त्यस्तै गरी बुटवल १२ रामनगरमा औद्योगिक प्रदर्शनीकालागि स्वर्गीय पूर्व सांसद सुर्यप्रसाद प्रधानकै पहलमा तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईराला नेतृत्वको सरकारले १६ विगाहा जग्गा छुट्याएको थियो । जहाँ अन्तर्राष्ट्रिय सभाहल निर्माणको प्रकृयामा छ ।

बुटवलमा भएका जतिपनि बिकास निर्माणका काम छन् सबै नेपाली काँग्रेसकै नेतृत्वमा भएको र यहाँको आवश्यकता अनुसारको बिकासकालागि पनि नेपाली काँग्रेसकै नेतृत्व आवश्यक रहेको मेयरका उम्मेदवार पाण्डेले बताउनु भयो ।

बुटवललाई नमुना नगरको रुपमा बिकास गर्नकालागि सबैसवारी साधनको पार्किङ् स्थल, सुविधासम्पन्न नयाँ बसपार्कको योजना आफूसंग रहेको बताउँदै उहाँले आफूले गरेको प्रतिवद्धता पुरा गर्नकालागि नीजि साझेदारी कार्यक्तम मार्फत अंगाडी बढाउने योजना आफूले बनाएको उल्लेख गर्नुभयो ।

उहाँले आफू सात वर्षसम्म नगरपालिकामा सर्बदलीय संयन्त्रमा बसेर काम गरेकाले जनताको आवश्यकता बुझेको र ती समस्या समाधानकालागि पनि नेपाली काँग्रेसकै नेतृत्व आवश्यक रहेको बताउनु भयो ।