कबिन्द्र नेपाल/
बुटवल, ३१ जेठ । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा जिल्ला सुरक्षा समितिले अति संवेदनशिल क्षेत्रहरुको पहिचान गरि त्यस्ता क्षेत्रहरुमा सुरक्षाको प्रवन्ध मिलाएको छ ।
एक उपमहानगरपालिका, ५ वटा नगरपालिका र १० वटा गाउँ पालिका गरि १६ वटा स्थानीय तह रहेको रुपन्देही जिल्लामा जिल्ला सुरक्षा समितिले ६ वटा स्थानीय तहलाई अतिसंवेदन शिल क्षेत्रको सूचिमा राखेको छ । ती स्थानीय तह दक्षिणी भेगका हुन् । लुम्बिनी साँस्कृतिक नगरपालिका तथा कोटरीमाई, मर्चवारी, मायाँदेवी, रोहिणी र समरीमाई गाउँ पालिकालाई सुरक्षा समितिले अतिसंवेदनशिल क्षेत्रको सूचिमा राखेको छ ।
सुरक्षा संवेदनशिलताको आधारमा जिल्लाको एक उपमहानगरपालिका बुटवललाई भने सामान्यको सूचिमा राखिएको छ । जिल्ला सुरक्षा समितिले सैनामैना, देवदह, सिद्धार्थनगर नगरपालिका तथा सियारी ओमसतीया, कञ्चर र गैडहवा गाउँपालिकालाई संवेदनशिल क्षेत्रको सूचिमा राखेको छ । त्यस्तैगरी बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा नगरपालिका र सुद्धोधन गाउँपालिकालाई सुरक्षा समितिले सुरक्षा संवेदनशिलताको सूचिमा सामान्यमा राखेको छ ।
यहि असारको १४ गते दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लिएर रुपन्देहीमा प्रहरीले तीन प्रकारको सुरक्षा रणनीति तयार गरेको हो । सुरक्षा संवेदनशिलताको आधारमा प्रहरीले सामान्य, संवेदनशिल र अतिसंवेदनशिल क्षेत्रमा विभाजन गरि सुरक्षा रणनीति बनाएको छ ।
निर्वाचनका समयमा प्रहरीले सोही अनुसार सुरक्षा जनशक्ति परिचालन गर्ने छ । १६ तहमा निर्वाचन कार्यालय सञ्चालनमा आएसंगै ती कार्यालयहरुमा २४ सै घण्टा प्रहरी परिचालन गरि सुरक्षा प्रवन्ध मिलाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेलबहादुर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार असार २ गते उम्मेदवारी दर्ता गर्ने दिनदेखि प्रत्येक मतदान केन्द्रमा सुरक्षाको प्रवन्ध मिलाईने जिल्ला सुरक्षा समितिले तयारी गरेको छ ।
सुरक्षाका हिसावले अति संवेदनशिल क्षेत्रमा नागरिकले सुरक्षाको महशुस गर्ने गरी प्रहरी परिचालन गर्ने र त्यस्था स्थानलाई बढी निगरानी गर्ने प्रहरी कार्यालयले तयारी गरेको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर रुपन्देहीमा २ हजार म्यादी प्रहरी भर्ना गरिएको छ । त्यस्तै १ हजार २ सयको हाराहारीमा प्रहरीको आफ्नै जनशक्ति छ । त्यस बाहेक निर्वाचन लक्षित सोही हाराहारीमा थप व्यबस्थापन गरिएको छ । त्यसबाहेक ससस्त्र प्रहरीले जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा रणनीति अनुसार स्ट्रयाकिङ् र मोवाई गस्ति सञ्चालन गर्न सुरु गरिसकेको छ ।