काठमाडौं, कात्तिक १४ – उपराष्ट्रपति चयनको लागि व्यवस्थापिका संसदमा मतदान हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संसद भवन नयाँबानेश्वरमा चुनाव हुनेछ ।
बेलुकी ५ बजे बस्ने संसद बैठकमा निर्वाचनको परिणाम घोषणा हुनेछ । उपराष्ट्रपतिको लागि सत्तारुढ दलको तर्फबाट एकीकृत नेकपा माओवादीका नन्दबहादुर पुन र नेपाली कांग्रेसबाट अमियकुमार यादवको उम्मेदवारी परेको छ ।
शुक्रबार उम्मेदवारी दर्ता गराएका ४ जनामध्ये २ जनाले उम्मेद्वारी फिर्ता लिएपछि पुन र यादवबीच प्रतिस्पर्धा हुने भएको हो । नेकपा एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले मधेसी वा थारु समुदायको उम्मेद्वार उठाउन दबाब दिएपनि एकीकृत माओवादीले आफूलाई उपराष्ट्रपति नदिन चलखेल सुरु भएको भन्दै सत्ता गठबन्धनमै धरापमा पर्ने चेतावनी दिएपछि सतारुढ दलका तर्फबाट पुन साझा उम्मेदवार बन्नुभएको हो ।
अहिलेको समीकरण अनुसार पुन निर्वाचित हुने झण्डै निश्चित छ । संसदमा अहिले कायम रहेको संख्या ५ सय ९७ अनुसार निर्वाचित हुन कम्तीमा २ सय ९९ मत आवश्यक पर्छ । सत्तारुढ गठबन्धनसँग यो भन्दा धेरै साँसद संख्या छ ।