कृषिमा प्रविधियुक्त तालिम आवश्यक

476

कृषिमा प्रविधियुक्त तालिम आवश्यक

बुटवल, ५ असार । सरकार तथा बिभिन्न दातृ निकायको सहयोगमा सञ्चालन हुने तालिमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

छुट्टाछुट्टै मन्त्रालायले छुट्टाछुट्टै तालिम सञ्चालन गर्दा एउटै व्यक्तिमा तामिल दोहोरिने समस्या एकातिर छ भने अर्कोतिर सञ्चालन भएका तालिमको समेत अनुगमन र मुल्याङ्कन नहुँदा तालिमको प्रभावकारितामा समेत प्रश्न चिन्ह खडा भएको उनीहरुले बताए ।

नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम अन्तरगत सञ्चालित जीवन पर्यन्त सिकाइलाई सिप र ज्ञानकालागि सहयोगी कार्यक्रमले सोमबार बुटवलमा आयोजना गरिएको प्राबिधिक तथा व्यबसायिक तालिम नीति २०७३ सम्बन्धि छलफल कार्यक्रममा सञ्चालित तालिमबाट उत्पादन भएका जनशक्तिले रोजगारी पाउन नसकेको र उद्योगी व्यबसायीले दक्ष जनशक्ति पाउन नसकिरहेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बताउनु भयो ।

कार्यक्रममा सहभागिले सरकारले बिद्यालय तहमा सञ्चालन गरेको प्राबिधिक शिक्षा लिएका बिद्यार्थीलाई उच्च शिक्षासंग लिंकअप गर्नु पनि सुझाव दिए । त्यस्तैगरी तालिमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न सञ्चालन भएका कार्यक्रमको प्रभावकारी रुपमा अनुगमन र मुल्याङ्कन गर्न समेत सुझाव दिए ।
हाम्रो मुलुकमा करिव ८० प्रतिसत जनसंख्या कृषि पेशा अवलम्बन गरेपनि त्यसको ६४ प्रतिसत जनसंख्याले निर्वाहमुखी कृषि पेशा गरिरहेको सरकारी तथ्याङ्क छ । त्यस्तै बैदेशिक रोजगारीमा जाने मध्ये ७५ प्रतिसत अदक्ष जनशक्ति छ । सरकारले त्यो जनशक्तिलाई दक्ष बनाएर मात्रै बैदेशिक रोजगारीमा जाने तथा कृषिमा प्रविधियुक्त शिक्षामा जोड दिईएको थियो ।

त्यसैका लागि सरकारले तालिम प्रदान गर्ने १६÷१७ वटा मन्त्रालयलाई समेटेर शिक्षा मन्त्रीको अध्यक्षतामा नीति समन्वय समिति बनाईएको र उक्त समितिले हालसम्म प्रदान गरिएको तालिमको प्रभावकारिता तथा अव कसरी अंगाडी जाने भन्ने बिषयमा दिशा निर्देश गर्ने पूर्व सचिव महाश्रम शर्माले बताउनु भयो ।
सञ्चालन गरिने तालिमलाई कसरी बिस्तार गर्ने, लक्षित व्यक्तिको पहुँच कसरी स्थापित गर्ने तथा त्यसको गुणस्तरलाई ध्यान दिईर तालिम कार्यक्रम सञ्चालन हुनु पर्दछ ।
अहिले मुलुकभरी ४५० भन्दा बढी नीजि बिद्यालयहरुले सिटिईभिटीबाट सम्बन्धन लिएर प्राबिधिक तालिम प्रदान गरिरहेका छन् । सरकारी बिद्यालयमा प्राबिधिक शिक्षा प्रदान गर्न सुरु गरिएपनि त्यसमा पनि केही समस्या देखिएको छ । – कार्यक्रमका बिज्ञ डा. हरि प्रधानले बताउनु भयो ।
कार्यक्रममा पूर्व सचिव जनार्दन नेपालले आवश्यकतामा केन्द्रित भएर तालिम प्रदान गरियो भने तालिमको प्रभावकारिता पनि हुने बताउँदै सरकारले तालिमको मोडल तयार गरेको उल्लेख गर्नुभयो । उक्त मोडल अनुसार उद्योगी व्यबसायीहरुसंग सल्लाह गरेर कुन क्षेत्रमा कसरी तालिम सञ्चालन गर्दा आवश्यकता परिपूर्ति हुन सक्छ त्यो सोचले अंगाडी बढीएको उहाले बताउनु भयो ।
कार्यक्रममा रुपनदेही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाललगायत उद्योगी व्यबसायीले सुझाव सल्लाह राखेका थिए ।